काठमाडौं, ५ भदौ २०८३ । अमेरिकाको अलास्का राज्यको दुर्गम क्षेत्रमा बिहीबार एउटा चार्टर विमान दुर्घटना हुँदा सबै आठ यात्रुको मृत्यु भएको छ । दुर्घटना एन्करेजबाट करिब ७२५ किलोमिटर पश्चिममा रहेको केप न्युवेनहाम लङ रेन्ज राडार साइटनजिक भएको हो ।
सेस्ना ४४१ विमान एन्करेजस्थित सिक्युरिटी एभिएसनबाट चार्टर गरिएको थियो । विमान एन्करेजस्थित टेड स्टिभन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । र, केप न्युवेनहामतर्फ गइरहँदा दुर्घटना भएको अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।
विमानमा दुई पाइलट र ६ यात्रु सवार थिए । अमेरिकी सेनाले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरू महत्त्वपूर्ण जिम्मेवारी पूरा गरिरहेका समर्पित व्यक्तिहरू रहेका जनाएको छ ।
विमान दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन । फेडरल एभिएसन एडमिनिस्ट्रेसनले घटनाको अनुसन्धान सुरु गरेको जनाइएको छ ।






