काठमाडौं, २२ साउन २०८३ । अमेरिकामा लेट्युस (सलादमा प्रयोग हुने हरियो साग)का कारण आन्द्राको संक्रमण ‘साइक्लोस्पोरायासिस’का घटनामा वृद्धि भएको पाइएको छ । यसबारे अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए), रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विभिन्न राज्यका स्वास्थ्य निकायहरूले संयुक्त अनुसन्धान सुरु गरेका छन् ।
सबैभन्दा बढी प्रभावित मिशिगन राज्यमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ११ हजारभन्दा बढी मानिस बिरामी परेको जानकारी सार्वजनिक भएको छ ।
सुरुमा यो संक्रमण लेट्युस साग खाएकाहरूमा देखिए पनि अधिकारीहरूले अहिले संक्रमणको वास्तविक स्रोत पत्ता लगाउने प्रयास गरिरहेका बताइएको छ ।
साइक्लोस्पोरायासिस के हो ?
साइक्लोस्पोरायासिस आन्द्रामा हुने परजीवीजन्य संक्रमण हो । यो साइक्लोस्पोरा नामक परजीवी भएको दूषित पानी पिउँदा वा राम्रोसँग नधोइएको काँचो फलफूल तथा सागसब्जी खाँदा सर्न सक्छ ।
यसका लक्षण सामान्यदेखि गम्भीरसम्म हुन सक्ने बताइएको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा यो संक्रमण बढी जोखिमपूर्ण मानिन्छ ।
मिशिगन स्वास्थ्य विभागका अनुसार, मृत्यु भएका दुवै व्यक्तिमा पहिलेदेखि नै गम्भीर स्वास्थ्य समस्या रहेको बताइएको छ । संक्रमणका कारण भएको शरीरमा पानीको कमीले उनीहरूको अवस्था झन् गम्भीर बनाएको थियो ।
सामान्यतया यो रोग ज्यान लिने खालको हुँदैन । तर, समयमै उपचार नगरे संक्रमण धेरै हप्तासम्म रहन सक्ने र बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ ।
संक्रमण कहाँबाट फैलियो ?
एफडीएको अनुसन्धानअनुसार धेरैजसो बिरामी नौ राज्यका टाको बेल रेस्टुरेन्टमा प्रयोग गरिएको काटिएको आइसबर्ग लेट्युस सागसँग सम्बन्धित देखिएका छन् । जुलाई १८ मा एफडीएले टेलर फार्म्सले आपूर्ति गरेको लेट्युसको नमुनामा परजीवी भेटिएको जनाएको थियो । तर, पुनः परीक्षणमा त्यो नतिजा पुष्टि हुन सकेन ।
यद्यपि, अनुसन्धान अझै पनि टेलर फार्म्सको आपूर्ति शृंखलामै केन्द्रित रहेको बताइएको छ । कम्पनीले सेन्ट्रल मेक्सिकोबाट ल्याइएको केही लेट्युस साग फिर्ता मगाएको, प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको र उक्त क्षेत्रबाट अब लेट्युस नकिन्ने जनाएको छ । अनुसन्धानका क्रममा वालमार्टसहित केही खुद्रा पसलबाट पनि सम्भावित जोखिम भएका उत्पादनहरू फिर्ता मगाइएको छ ।
अमेरिकामा कति फैलिएको छ ?
सीडीसीका अनुसार, मेदेखि अगस्टसम्म अमेरिकामा यो संक्रमण बढी देखिने गर्छ । यस वर्ष ४५ राज्यमा ६ हजार ७०७ पुष्टि भएका बिरामी भेटिएका छन् । तीमध्ये ४२३ जनालाई अस्पताल भर्ना गर्नुपरेको छ । संक्रमण भएको पुष्टि हुन करिब ६ हप्ता लाग्न सक्ने भएकाले वास्तविक संक्रमितको संख्या अझ बढ्न सक्ने अधिकारीहरूको अनुमान छ । यसअघि सन् २०२० मा प्याक गरिएको सलादका कारण १३ राज्यमा करिब ७०० जना संक्रमित भएका थिए ।
कसरी बच्ने ?
एफडीएले फलफूल र सागसब्जी राम्रोसँग पखालेर मात्र खान तथा सम्भव भएसम्म राम्ररी पकाएर खान सल्लाह दिएको छ । पातदार तरकारीको बाहिरी पात हटाउनु पनि सुरक्षित मानिन्छ । यो संक्रमण मुख्यतः दूषित खाना वा पानीबाट फैलिने भएकाले सामान्य छुवाछूतबाट भने सर्दैन ।
संक्रमण पुष्टि भएका बिरामीलाई चिकित्सकको सल्लाहअनुसार ट्राइमेथोप्रिम–सल्फामेथोक्साजोल नामक एन्टिबायोटिक ७ देखि १० दिनसम्म सेवन गर्न सिफारिस गरिएको छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका बिरामीलाई भने लामो समयसम्म उपचार आवश्यक पर्न सक्छ ।






