काठमाडौं, २१ साउन २०८३ । युक्रेनले रुसको यारोस्लाभ क्षेत्रस्थित एक प्रमुख तेल प्रशोधन केन्द्रसहित दुई वटा रिफाइनरीमा ड्रोनमार्फत आक्रमण गरेको छ ।
रुसको यारोस्लाभ क्षेत्रका गभर्नर मिखाइलले यारोस्लाभमाथि युक्रेनले अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । उनका अनुसार रुसी वायु प्रतिरक्षा प्रणालीले ९२ वटा ड्रोन खसाल्न सफल भएको छ । यद्यपि, ड्रोनका अवशेष खस्दा तीन वटा घरमा आगलागी भएको उनले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको पुष्टि गर्दै यारोस्लाभस्थित स्लाभनेफ्ट–यानोस रिफाइनरी तथा बास्कोर्तोस्तानस्थित बास्नेफ्ट–नोभोइल रिफाइनरीलाई निशाना बनाइएको बताएका छन् ।
रुसी रक्षा मन्त्रालयका अनुसार देशका विभिन्न क्षेत्रमा युक्रेनले प्रहार गरेका कुल ६०५ वटा ड्रोनलाई आकाशमै अवरोध गरी नष्ट गरिएको छ ।
पछिल्ला केही सातायता युक्रेनले रुसका ऊर्जा पूर्वाधार तथा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र बनाएको छ । ती आक्रमणमा तेल प्रशोधन केन्द्र, इन्धन भण्डारण केन्द्र तथा अन्य रणनीतिक पूर्वाधारहरू पनि परेका छन् ।
उता, युक्रेनी अधिकारीहरूले भने रुसले गरेको ड्रोन आक्रमणमा एक आवासीय क्षेत्रमा तीनजनाको मृत्यु भएको दाबी गरेका छन् ।






