काठमाडौं, १३ साउन २०८३ । जापानका प्रधानमन्त्री सानाए ताकाइचीले दक्षिण–पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि उद्धार टोलीहरू खोजीमा खटिरहेको बताएका छन् । हालसम्म भूकम्पका कारण कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मंगलबार जापानको दक्षिण–पश्चिमस्थित कुमामोटो प्रान्तमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण भत्किएको एओन सपिङ मल र यात्सुशिरोस्थित निप्पोन पेपरको कारखानामा उद्धार कार्य जारी रहेको बताइएको छ ।
भूकम्प गएको करिब एक घण्टापछि उक्त सपिङ मलमा ठूलो विस्फोट भएको थियो । आपतकालीन उद्धारका लागि चार हजार ६०० जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । मंगलबार कुमामोटो प्रान्तमा आएको भूकम्पपछि काशिमासहरस्थित एओन सपिङ मलबाट चारजना अझै बेपत्ता रहेको मल व्यवस्थापनले जनाएको छ ।
सार्वजनिक भएका तस्बिरहरूमा स्थानीय बासिन्दाहरू क्षति पुगेका आफ्ना घरभित्र भग्नावशेष र फर्निचर हटाउँदै गरेको देखिने बीबीसीले जनाएको छ ।
७५ वर्षीया एक रेस्टुरेन्ट सञ्चालिकाले बीबीसीसँग कुरा गर्दै यो भूकम्प आफ्नो जीवनकै सबैभन्दा शक्तिशाली भएको बताइन् ।






