Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

काठमाडौं, १० साउन २०८३ । करिब एक महिनादेखि नयाँ दिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टीको नेतृत्वमा प्रदर्शनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिए । उनको राजीनामा स्वीकृतसँगै प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको कार्यभार सुम्पिइएको छ ।

प्रल्हाद हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरणमन्त्री हुन् । उनले नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् ।

उता, केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग शनिबार तेस्रो चरणको वार्तापछि ककरोच जनता पार्टीले प्रदर्शन सकिएको घोषणा गर्दै प्रदर्शनकारीलाई घर फर्कन आग्रह गरेको छ । ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष रांकाले आफ्ना प्रमुख माग सम्बोधन भएको भन्दै प्रदर्शनकारीलाई आ–आफ्नो घर फर्कन आग्रह गरेका हुन् ।

उनले चार सातापछि पुनः भेटेर बाँकी विषय तथा शिक्षा सुधारसम्बन्धी एजेन्डामा छलफल गर्ने पनि बताए ।

परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशभर युवा आन्दोलनमा उत्रिएका थिए । वातावरण अभियन्ता सोनम वाङचुकले पनि राजीनामाको माग गर्दै २६ दिनसम्म आमरण अनशन बसेका थिए ।

यो आन्दोलनमा सुरुदेखि नै विभिन्न विद्यार्थी संगठन पनि सक्रिय थिए । उनीहरू मुख्य मञ्चमा अनशनमा थिएनन् । तर, त्यसनजिकै बसेर अनशन जारी राखेका थिए । सीपीआई ९एमएल०को विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट एसोसिएसनका तीन विद्यार्थी २३ दिनसम्म अनशन बसेका थिए ।

तपाईको प्रतिक्रिया