Online Bichar
शुक्रबार, साउन ०८, २०८३ | Friday, July 24, 2026

काठमाडौं, ७ साउन २०८३ । अमेरिकी सेनाले इरानमाथि लगातार १२औँ दिन पनि हवाई आक्रमण जारी राखेको छ । अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानले जहाजहरूलाई लक्षित गर्न सक्ने क्षमतालाई थप कमजोर बनाउने उद्देश्यले यी आक्रमण गरिएको जनाएको छ ।

आक्रमणका क्रममा इराकको सीमामा रहेको शलमचेह सीमा नाकामा कम्तीमा दुईजनाको मृत्यु भएको छ । ११ जना घाइते भएको अलजजिराले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजमा इरानले कुनै पनि जहाजमाथि गर्ने प्रत्येक आक्रमणको बदलामा अमेरिकाले इरानको एउटा पुल वा ऊर्जा केन्द्र ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गहरूमध्ये एक मानिने यस क्षेत्रमा दुवै पक्षले सैन्य गतिविधि विस्तार गर्दै लगेपछि सर्वसाधारण र पूर्वाधारमाथिको जोखिम पनि बढ्दै गएको छ ।

उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमाथि थप आक्रमण गरेको अलजजिराले जनाएको छ । होर्मुज जलमार्गमा अनधिकृत मार्गबाट यात्रा गर्न खोजेको एउटा ट्यांकरमा विस्फोट भई आगलागी भएको जनाएको छ ।

कर्प्सले जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनाहरूमाथि पनि आक्रमण गरेको दाबी गरेको छ । उसले अमेरिकी ‘थाड’ मिसाइल प्रतिरक्षा प्रणालीको एउटा राडार ध्वस्त पारिएको जनाएको छ ।

‘प्याट्रियट’ मिसाइल प्रतिरक्षा प्रणाली र ‘सी–र्‍याम’ राडारलाई पनि निशाना बनाएर ध्वस्त पारिएको तथा अमेरिकी सैन्य अड्डाका इन्धन ट्यांकहरूमा आगो लगाइएको दाबी गरेको छ ।

कर्प्सले भनेको छ, “हेलिकोप्टरका उपकरण राखिएको एउटा ठूलो गोदाम तथा हेलिकोप्टर मर्मतसम्भार गर्ने टहरामा पनि आगो लगाएर नष्ट पारिएको छ ।”

यसैबीच, यमनको इरान–समर्थित हुथी समूहले लाल सागरमा दुईवटा साउदी तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेको छ । यस घटनाले विश्वको प्रमुख ऊर्जा व्यापारिक मार्गमध्ये एक मानिने यस क्षेत्रमा तनाव थप बढाएको छ ।

हुथी समूहले ती जहाजहरूको नाम ‘एन्सेलिया’ र ‘लैला’ रहेको बताउँदै, यसै साताको सुरुमा साउदी अरेबियाविरुद्ध घोषणा गरिएको समुद्री नाकाबन्दीको उल्लंघन गरेकाले ती जहाजमाथि ब्यालिस्टिक तथा क्रुज मिसाइल प्रहार गरिएको दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया