काठमाडौं, ५ साउन २०८३ । भारतको लोकसभाका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीसहितलाई प्रहरीले पक्राउ गरेको छ । राहुलसहित कंग्रेसनेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हो । मंगलबार प्रदर्शनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
भारतको ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले जन्तरमन्तरदेखि संसद्सम्म मार्च निकाल्ने प्रयास गरेका थिए । प्रदर्शनकारीहरूमाथि प्रहरीले कारबाही गरेपछि भारतका विपक्षी दलहरूले केन्द्र सरकारविरुद्ध मोर्चा खोलेका छन् ।
यस क्रममा कंग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास, ७ लोक कल्याण मार्गबाहिर धर्ना प्रदर्शन सुरु गरेका थिए ।
राहुल गान्धीलाई हिरासतमा लिने क्रममा उनी सडकमै सुतेका थिए । त्यसक्रममा उनले सञ्चारकर्मीसँग भने, “प्रजातन्त्र समाप्त भएको छ ।”
उता, अखिलेश यादवको पनि एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दिल्ली प्रहरीले उनलाई बसमा राखेर लैजाँदै गरेको देखिन्छ । त्यसक्रममा अखिलेश यादव प्रहरीहरूसँग “प्रहरी दाइ, कहाँ लैजाँदै हुनुहुन्छ रु” भन्दै प्रश्न गरेको भिडियोमा सुनिन्छ ।
यस घटनाक्रमबारे राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पनि प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, “हिजो युवा विद्यार्थीहरूमाथि भएको बर्बरताबारे प्रधानमन्त्री मोदीसँग जवाफ माग्न हामी उहाँको निवाससम्म पैदल मार्च गरेर गयौँ । सरकार न त कुनै जवाफदेहिता लिन चाहन्छ, न त संसद्मा यस विषयमा बहस गर्न नै चाहन्छ । भारतका युवाहरूको भविष्य बर्बाद पारेकामा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।”
यसैबीच दिल्ली प्रहरीले वायनाडकी सांसद प्रियंका गान्धीलाई पनि हिरासतमा लिएको छ । हिरासतमा लिने क्रममा उनले भनिन्, “सरकार कायर छ । यो डराउँछ । हामी उनीहरूसँग डराउँदैनौँ, उनीहरू हामीसँग डराउँछन् ।”
कांग्रेसका प्रवक्ता पवन खेडाले प्रहरीले राहुल गान्धी र प्रियंका गान्धीसँग दुर्व्यवहार गरेको तथा उनीहरूलाई कहाँ लगिएको छ भन्नेबारे आफूहरूलाई कुनै जानकारी नदिइएको बताएका छन् ।
कांग्रेस सांसद मणिकम ट्यागोरले भने, “संसद्मा हामीलाई बोल्न अनुमति छैन भन्ने देखाउन हामी यहाँ आएका हौँ । हामी प्रधानमन्त्री मोदीसँग कुरा गर्न चाहन्थ्यौँ । शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ भनेर उहाँलाई भन्न हामी उहाँको निवासमा आएका हौँ । उहाँले शिक्षामन्त्रीलाई बर्खास्त गर्नुपर्छ । दिल्ली प्रहरीविरुद्ध कारबाही हुनुपर्छ । यसका लागि गृहमन्त्री जिम्मेवार हुनुहुन्छ । प्रधानमन्त्री मोदी पनि यसका लागि जिम्मेवार हुनुहुन्छ । उहाँहरू यो जिम्मेवारीबाट भाग्न सक्नुहुन्न । यहाँ सबै सांसदहरूलाई हिरासतमा राखिएको छ ।”
सांसद सुखजिन्दरसिंह रन्धावाले हिरासतमा लिने क्रममा भने, “यदि सांसदहरूसँग यस्तो व्यवहार भइरहेको छ भने विद्यार्थीहरूमाथि के भएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।”






