Online Bichar
आइतबार, साउन ०३, २०८३ | Sunday, July 19, 2026

काठमाडौं, २ साउन २०८३ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारीको वर्षाको पूर्वानुमान रहेको भन्दै उच्च सतर्कताका लागि आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेसँगै प्राधिकरणले सचेत रहन भनेको हो ।

भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी कार्य गर्नरगराउन सम्बन्धित सबैलाई भनेको छ ।

आज र भोलि अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न पनि प्राधिकरणको आग्रह छ ।

पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने भएको छ । परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले प्रस्ट पारेको छ ।

“तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहनेछन्,” प्राधिकरणले भनेको छ, “जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधनहरू तयारी अवस्थामा राखिनेछ ।”

जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचनारचेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

“अकस्मात बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोलारनदी किनाराका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुपर्नेछ,” प्राधिकरणले भनेको छ ।

तपाईको प्रतिक्रिया