काठमाडौं, २ साउन २०८३ । मनसुन प्रणाली आजबाट थप सक्रिय हुँदै छ । मनसुन प्रणाली थप सक्रिय हुँदा वर्षा पनि धेरै हुनेछ । ५ गतेसम्म मनसुन थप सक्रिय हुनेछ । आज भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
पहाडी र तराई भू–भागको धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्ज/रचट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशका पहाडी भूभाग, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले बताएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास छ । त्यसैले धेरै स्थानमा वर्षा भइरहेको छ । यो न्यूनचापीय रेखाले अबको एक हप्ता नेपालमा वर्षाको आउजाउ बाक्लो हुने सम्भावना बलियो देखाएको जलवायुविज्ञ धर्मराज उप्रेती बताउँछन् ।
“बंगालको खाडीमा बनेको वर्षा गराउने प्रणाली (न्यूनचापीय अवस्था) ले आगामी एक हप्तासम्मै मनसुनी वर्षा नेपालको अधिकांश भागमा सक्रिय हुनेछ,” जलवायुविज्ञ उप्रेती फेसबुकमा लेख्छन्, “तर, मधेसको जनकपुर वरिपरि भने हल्का वर्षा मात्र हुने सम्भावना छ । मध्यपहाडी भागमा राम्रो वर्षा हुनेछ ।”
यो प्रणालीको खास प्रभाव आज साँझ देखि मंगलबारसम्म देखिने उनले प्रस्ट पारेका छन् ।
अर्का मौसमविद् विनोद पोखरेल पनि बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले नेपालको धेरै ठाउँमा वर्षा गराउने बताउँछन् । आजदेखि अलि धेरै ठाउँमा भारी वर्षा सुरु हुने र यो क्रम तीन/चार दिनसम्म रहने उनको भनाइ छ ।
“पश्चिम नेपालको धेरै ठाउँ र कोसीको पूर्वी जिल्लाहरूमा भारी वर्षा हुने सम्भावना छ,” मौसमविद् पोखरेल लेख्छन्, “तर, तराईको केही ठाउँमा भारी वर्षा हुने देखिए पनि राम्रो वर्षा सबै ठाउँमा हुने सम्भावना छैन ।”
कुनै स्थानमा १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।
२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागको मापदण्ड छ ।






