काठमाडौं, १ साउन २०८३ । प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरबाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ ।
उपभोक्ता अदालतले बिहीबार दिएको फैसलामा एभरेस्ट अस्पताल र चिकित्सकको उपचारमा लापरबाही पुष्टि गर्दै पीडित पक्षलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।
अदालतका प्रवक्ता होमनाथ कँडेलका अनुसार अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए । प्रवक्ता कँडेलका अनुसार अदालतले उपचार प्रक्रियामा भएका कमजोरीलाई निर्णयको मुख्य आधार बनाएको छ । विशेषगरी प्रि–एक्लेम्प्सियाको समस्या भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनअघि नदिई शल्यक्रियापछि मात्रै दिइएको विषयलाई उपचारमा भएको गम्भीर कमजोरीका रूपमा अदालतले ग्रहण गरेको उनले बताए ।
उनका अनुसार अदालतले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको तथा प्रि–एक्लेम्प्सियाका बिरामीलाई शल्यक्रियाअघि दिनुपर्ने औषधि नदिएको लगायतका विषयमा अस्पताल र चिकित्सक दुवैको लापरबाही पुष्टि भएको ठहर गरेको छ ।
कँडेलले चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत तथा प्रशासनिक दायित्वसमेत रहेको निष्कर्ष निकाल्दै दुवैलाई उत्तरदायी ठहर गरिएको बताए ।
शल्यक्रियाअघि औषधि नदिई अपरेसन गरियो
फैसलाअनुसार मनिता गर्भावस्थाको अवधिभर एभरेस्ट अस्पतालमा कार्यरत डा.ज्योत्सना शर्मा तिवारीको नियमित निगरानीमा उपचार गराइरहेकी थिइन् ।
२५ मंसिर २०८१ मा पेटको माथिल्लो भाग दुखेपछि उनी दिउँसो करिब २:१५ बजे एभरेस्ट अस्पताल पुगेकी थिइन् । उनलाई तत्काल इमर्जेन्सीमा भर्ना गरिएको थियो । साँझ ४:३० बजे सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगिएको र साँझ ५:१५ बजे छोरीको जन्म भएको अदालतले उल्लेख गरेको छ ।
अदालतका अनुसार मनितालाई पहिलेदेखि नै उच्च रक्तचाप (हाइपरटेन्सन) को समस्या थियो । गर्भावस्थामा उनलाई ‘सिभियर प्रि–इक्लेम्सिया’ देखिएको थियो । शल्यक्रियाअघि एनेस्थेसिया चिकित्सकले परीक्षण गर्दा उनको रक्तचाप १८०/११० रहेको अभिलेखमा उल्लेख छ ।
उच्च रक्तचाप नियन्त्रणका लागि उनलाई ल्याबेटालोल औषधि दिइएको थियो । तर, म्याग्नेसियम सल्फेट भने शल्यक्रिया सम्पन्न भएपछि मात्रै दिइएको अदालतले जनाएको छ ।
पीडित पक्षले अदालतमा दायर गरेको मुद्दामा सिभियर प्रि–इक्लेम्सिया भएका बिरामीलाई एक्लेम्सिया तथा ‘एचईएलएलपी सिन्ड्रोम’ जस्ता घातक जटिलता रोक्न शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्ने अन्तर्राष्ट्रिय उपचार मापदण्ड रहेको जिकिर गरेको थियो ।
तर प्रतिवादी चिकित्सकले शल्यक्रियाअघि औषधि नदिई अप्रेशन सम्पन्न गरेपछि मात्रै म्याग्नेसियम सल्फेट दिएका कारण बिरामीको अवस्था जटिल बनेको थियो । उनलाई सीपीआर समेत गरिएको थियो ।
‘ज्यान जोखिममा रहेको अवस्थामा थप उपचारकालाई २६ मंसिरमा ह्याम्स अस्पताल रेफर गरेको पाइयो,’ फैसलामा भनिएको छ । त्यसपछि मनितालाई भेन्टिलेटरमा राखेर उपचार भयो । गर्भावस्थामा नै हेल्प सिन्ड्रोम र प्रि–एक्लाम्पसिया कारण भेन्टिलेटरमा सात दिनमा मनिताको मृत्यु भयो ।
प्रतिवादी एभरेस्ट अस्पताल र डा. तिवारीले भने उपचारमा कुनै लापरबाही नगरेको दाबी गर्दै प्रतिउत्तर दिएका थिए ।
विज्ञले भने – शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्थ्यो
अदालतले चिकित्सा लापरबाही भएको वा नभएको यकिन गर्न विभिन्न विशेषज्ञ चिकित्सकको राय लिएको थियो ।
त्रिवि शिक्षण अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सुनिता जोशी रावलले अदालतलाई दिएको रायमा ‘सिजेरियन शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिएको भए अझ उपयुक्त हुने थियो’ भन्ने उल्लेख गरेकी छन् ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डा. पुर्ण गुरुङले पनि सिभियर प्रि–इक्लेम्सिया तथा एक्लेम्सियामा म्याग्नेसियम सल्फेटको प्रयोग गर्नुपर्ने राय दिएका थिए । अदालतमा दिएको बकपत्रमा उनले त्यस्तो अवस्थाका बिरामीमा उक्त औषधि उपचारको स्थापित प्रक्रिया भएको बताएका थिए ।
विशेषज्ञ डा. रुपेशकुमार गानीले पनि अदालतमा दिएको बयानमा एक्लेम्सियामा म्याग्नेसियम सल्फेटको प्रयोग अनिवार्य हुने र जोखिमयुक्त प्रि–इक्लेम्सियामा समेत रोकथामका लागि प्रयोग गर्न सकिने बताएका थिए ।
अदालतले आफ्नो फैसलामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ‘प्रि–इक्लेम्सिया तथा एक्लेम्सिया’ सम्बन्धी उपचार निर्देशिका समेत उल्लेख गरेको छ ।
फैसलाअनुसार डब्लूएचओको सिफारिसमा प्रि–इक्लेम्सियाबाट हुने जटिलता रोक्न म्याग्नेसियम सल्फेट प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था छ । गम्भीर प्रि–इक्लेम्सियाका बिरामीलाई प्रसूति गराउनुअघि आवश्यक मात्रामा म्याग्नेसियम सल्फेट दिएर उपचार अघि बढाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको अदालतले उल्लेख गरेको छ ।
प्रतिवादी डा.ज्योत्सना शर्मा तिवारीले शल्यक्रियाअघि म्याग्नेसियम सल्फेट नदिएको कारणबारे प्रतिउत्तरमा बिरामीमा ‘अत्यधिक रक्तस्राव’ लगायतका समस्या आउन सक्ने भएकाले औषधि नचलाइएको जिकिर गरेकी थिइन् ।
तर अदालतले स्वास्थ्य उपचारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोटोकल, विशेषज्ञ चिकित्सकको राय र डब्लूएचओको गाइडलाइनको अध्ययनपछि त्यस्तो जिकिर पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ ।
फैसलामा सिभियर प्रि–इक्लेम्सियाको अवस्थाका बिरामीलाई शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्ने उपचार मापदण्ड रहेको उल्लेख गर्दै मनिताको हकमा त्यो पालना नगरिएको भनिएको छ ।
अदालतले दोष चिकित्सकमा मात्रै सीमित नरहेको पनि औंल्याएको छ । फैसलामा मनिता गर्भावस्थादेखि नै एभरेस्ट अस्पतालमा नियमित उपचाररत रहेकाले सम्भावित जोखिमको पूर्वानुमान गरी उच्च सतर्कतासहित उपचार व्यवस्थापन गर्नुपर्ने दायित्व अस्पतालको पनि रहेको उल्लेख गरिएको छ ।
यसबाहेक बिरामीको अवस्था जटिल बन्दै जाँदा विशेषज्ञ चिकित्सकबीच समन्वय, आवश्यक परामर्श, प्रभावकारी सूचना प्रवाह, उपचार व्यवस्थापन तथा संस्थागत जिम्मेवारी निर्वाहमा पनि अस्पताल चुकेको अदालतको निष्कर्ष छ ।
अदालतले महिला प्रजनन स्वास्थ्यजस्तो संवेदनशील सेवामा उच्च स्तरको सावधानी, गुणस्तरीय व्यवस्थापन र संस्थागत जवाफदेहिता अपेक्षित भए पनि एभरेस्ट अस्पतालले त्यसअनुसारको सेवा प्रवाह गर्न नसकेको उल्लेख गरेको छ ।
अदालतले उपचारमा संलग्न डा.ज्योत्सना शर्मा तिवारीले सिभियर प्रि–इक्लेम्सियाको अवस्थामा आवश्यक उच्च सतर्कता अपनाउन नसकेको तथा स्थापित उपचार प्रोटोकल पूर्ण रूपमा पालना नगरेको ठहर गरेको छ ।
यस्तै एभरेस्ट अस्पतालले चिकित्सक नियुक्ति, उपचार व्यवस्थापन, गुणस्तरीय सेवा, संस्थागत समन्वय र जिम्मेवार स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको भन्दै अस्पताललाई पनि उत्तरदायी ठहर गरिएको छ ।
त्यसअनुसार अदालतले डा। ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ तथा एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति पीडित परिवारलाई भराउन आदेश दिएको छ । साथै, क्षतिपूर्तिसम्बन्धी दाबीको बाँकी माग भने पुग्न नसक्ने ठहर अदालतले गरेको छ।
के थियो घटना ?
घटना, २५ मंसिर २०८१ को हो । दिउँसो १ बजेको हुँदो हो, ४१ वर्षीय मनिताको पेटको माथिल्लो भागमा असह्य पीडा हुनथाल्यो । उनको पेटमा ३४ हप्ताको बच्चा हुर्किरहेको थियो ।
हतारहतार मनिताले डाक्टर ज्योत्सना शर्मालाई फोन डायल गरिन् तर उठेन । स्त्रीरोग विशेषज्ञ ज्योत्सनासँग मनिताले निरन्तर परामर्श लिंदै आएकी थिइन् । ज्योत्सनाले भनेकी थिइन् – केही समस्या परे फोन गरिहाल्नु ।
डाक्टर व्यस्त भएको ठान्दै उनले एसएमएस गरिन् – डा. प्लिज फोन उठाउनु न । मलाई धेरै गाह्रो भयो । कहाँ आउँ ?
उनको पहिलो गर्भ पाँच महिनामै खेर गएको थियो । अब त्यस्तो नदोहोरियोस् भन्नेमा उनीहरू सचेत थिए । बच्चालाई केही पो हुने हो कि ! असाध्यै दुखाइपछि सुवास र मनिता अस्पतालतिर लागे । जाँदै गर्दा निरन्तर फोन हानिरहे । तर कुनै जवाफ आएन ।
पराजुली दम्पतीले नयाँबानेश्वरस्थित एभरेस्ट अस्पतालमा चेकजाँच गराइरहेका थिए । बस्न सहज र सुलभ हुने भएकाले डा। ज्योत्सनाकै सल्लाहमा बच्चा जन्माउने अस्पताल भने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज रोजे ।
डा. ज्योत्सना काठमाडौं मेडिकल कलेज र एभरेस्ट अस्पतालमा कार्यरत छिन् । मेडिकल कलेजको गेटबाट भित्र छिरेपछि डा। ज्योत्सनाको फोन आयो। उनले एभेरेस्ट अस्पताल नै आउन र आफू पनि आउने आश्वासन दिइन् ।
पराजुली दम्पती हतारहतारमा एभरेस्ट तिर लागे । एभरेस्टको इमर्जेन्सीमा घण्टौं कुर्दा पनि डा. ज्योत्सना आइपुगिनन् ।
इमर्जेन्सी कक्षमा हुँदा अल्ट्रासाउन्ड र केही रगत परीक्षण भयो । त्यतिबेला मनिताको रक्तचाप १८०र१२० थियो । जुन एकदमै उच्च हो ।
सुवासका अनुसार अस्पताल पुगेको दुई घण्टापछि डा. ज्योत्सना आइपुगेकी थिइन् ।
केही समयपछि चिकित्सकले शल्यक्रिया गरे । मनिताले छोरीलाई जन्म दिइन् । तर मनिताको स्वास्थ्य अवस्था सुधार भएन । रक्तचाप उच्च नै थियो ।
त्यतिबेला सुवासले ज्योत्सनालाई प्रश्न गरेका थिए – ‘रक्तचाप उच्च हुँदा कसरी शल्यक्रिया गर्नुभयो रु’ ‘औषधि दिएपछि रक्तचाप सामान्य भयो, त्यसपछि शल्यक्रिया गरियो । तर बच्चा निकालेपछि भने प्रेसर हाई भएको छ’, त्यतिबेला डा। ज्योत्सनाको जवाफ थियो ।
केही समयपछि भने ज्योत्सनाले मनिता, मनिता, मनिता‘ भनिरहेको आवाज बाहिर सुनिएको सुवास बताउँछन् । त्यसलगत्तै डाक्टरले मनितालाई सिजर आएकाले औषधि दिएको र अवस्था सुधार भएन भने आईसीयूमा लैजानुपर्ने बताए ।सुत्केरी अवस्थामा हुने सिजर भन्नाले बच्चा जन्माएपछि महिलामा अचानक झट्का लाग्ने, बेहोस हुने, शरीर कक्रिने जस्ता लक्षण देखिनुलाई बुझिन्छ । यसलाई ‘पोस्टपार्टम प्रि–एक्लाम्पसिया’ भनिन्छ ।
केहीक्षणमै मनितालाई आईसीयूमा सारियो । सुवास पनि पछि–पछि गए । तर त्यतिबेलासम्म डा. ज्योत्सना अस्पतालबाट निस्किइसकेकी थिइन् ।
‘जुन दुखाइ लिएर अस्पताल पुगेका थियौं, बच्चा निकालिसकेपछि पनि मनिताको पेटको माथिल्लो भागको दुखाइ उस्तै नै थियो’ सुवास भन्छन् ।
२६ मंसिरको दिउँसो साढे १ बजे अवस्था यति गम्भीर भयो कि मनितालाई सीपीआर दिनुपर्यो । बिहान १० र मध्याह्न १२ बजेको रिपोर्ट राम्रो नभएको र यसबारे अस्पतालले आफूलाई जानकारी नदिएको सुवास बताउँछन् ।
‘डाक्टरलाई नै विश्वास गरेर एभरेस्ट अस्पतालमा लगेको थिएँ । किनकि दुई वर्षदेखि नै डा. ज्योत्सनाकै परामर्शमा बच्चालाई जन्म दिने निधो गरेका थियौं’ सुवास भन्छन्, ‘तर अवस्था गम्भीर भएपछि अन्य अस्पतालमा रेफर गर्न भनियो ।’ त्यसबेला मात्रै डाक्टरले कलेजो फेल भइसकेको र मिर्गौलामा पनि असर परेको बताए ।
त्यसपछि परिवारले ह्याम्स अस्पताल लैजाने निधो गरे । जुन सल्लाह डा। ज्योत्सनाले नै दिएको सुवासको दाबी छ । ह्याम्स पुगेपछि थाहा भयो– गर्भावस्थामा नै हेल्प सिन्ड्रोम र प्रि–एक्लाम्पसिया भइसकेको रहेछ । जसले गर्भावस्थामा रगत जम्ने समस्या र कलेजोमा समेत असर गर्छ ।
ह्याम्समा भेन्टिलेटरमा राखेर उपचार भयो । चिकित्सकले भनेका थिए ‘जति अंगले छोडिसके त्यसलाई सुधार गर्न सकिंदैन । अब थप बिग्रिन नदिन मात्रै प्रयास गर्छौं ।’ तर सबै प्रयास व्यर्थ भयो । भेन्टिलेटरमा राखेको सात दिनपछि मनिताले प्राण त्यागिन् ।अनलाइनखबरबाट






