Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

भक्तपुर, २३ फागुन । शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ ।

पहिलो दिन बिहीबार निम्न माध्यमिक तह अन्र्तगत सबै क्षेत्रको गणित, गणित विज्ञान र कम्प्युटरको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

जसमा ३ सय ९५ जना स्थायीमा सिफारिस भएका छन् । जस अनुसार गणित विज्ञानमा ४५, गणितमा ३ सय ४९ र कम्प्युटरमा १ जना स्थायीका लागि सिफारिस भएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

यस अघि आयोगले नतिजा सार्वजनिक गर्ना साथ वेभसाईट मार्फत् विवरण सार्वजनिक गर्दै आएकोमा यस पटक भने सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र नतिजाको क्षेत्र लेखे पछि मात्रै हेर्न मिल्ने बनाईएको छ । यसले गर्दा प्रविधिको पहुँचमा नभएका उम्मेद्वारले नतिजा थाह पाउन मुस्किल भएको गुनासो गरेका छन् ।

’आफ्नो मान्छे दुर्गम क्षेत्रमा हुनुहुन्छ, फोन पनि लाग्दैन न नम्बर थाह छ, न जन्ममिति ? कसरी थाह पाउनु रिजल्ट ?’ एक जना शिक्षकका आफन्तले एडुखबरसँग टेलिफोनमा गुनासो गर्दै भने, ’नतिजा त सार्वजनिक कुरा हो किन गोप्य राख्नु परेको हो ? बुझ्न सकिएन ।’

आयोगले सबै नाम नामेसी सहितको विवरण सार्वजनिक गर्ने भए पनि केही समय लाग्ने भएकाले तत्काल सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र नतिजाको क्षेत्र लेखे पछि थाह पाउने गरी सार्वजनिक गरिएको गौतमले बताए ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्र्तवार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको थियो । तिनै तहमा गरी लिखितका लागि २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

अब बाँकी विषयको नतिजा क्रमैसँग सार्वजनिक गर्ने गौतमले बताए । इडियुखबरबाट

तपाईको प्रतिक्रिया