Online Bichar
मंगलबार, आषाढ ३०, २०८३ | Tuesday, July 14, 2026

झापा, २९ असार २०८३ । प्रहरीले झापाको भद्रपुरबाट ठूलो मात्रामा चाइनिज खरबुजाको बीउ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले हिजो साँझ ६ बजे भद्रपुर नगरपालिका वडा न.३ ज्ञाने चोक बस्ने भिमलाल सुवेदीको घरमा राखेको ९४८ बोरा चाइनिज खरबुजाको बीउ बरामद गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक बशुन्धरा खड्काको कमाण्डमा वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट गरी जम्मा ५५ जना संयुक्त प्रहरी टोली खटिएर खरबुजाको बीउ राखिएको सुवेदीको घरको दुईवटा कोठामा छापा पारेको थियो ।

एउटा बोरामा ४० केजीको दरले खरबुजाको बीउ रहेको छ । जम्मा ३७ हजार ९२० केजी खरबुजाको बीउ भद्रपुर भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । सो खरबुजाको बीउको मूल्यांकन करिव एक करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । घरधनी सुवेदीसंग भद्रपुरका सन्तोष धमलाले संझौता गरी खरबुजाको बीउ राखेको कोठा भाडामा लिएका थिए । त्यस तस्करीमा धेरैजनाको संलग्नता रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया