काठमाडौं, २९ असार २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रालयका सचिवहरूलाई डाकेर आकस्मिक छलफल गरेका छन् ।
बालेनले सोमबार (असार २९) कार्यालय समय सकिनु केही समयअघि मन्त्रालयका सचिवहरूलाई छलफलमा डाकेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीबारे प्रधानमन्त्रीको विशेष चासो रहेको थियो ।
प्रधानमन्त्री शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूची कार्यान्वयनलाई प्रभावकारी बनाउन ‘पीएम डेलिभरी युनिट’ समेत गठन गरिएको छ ।
प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै मन्त्रालयबीच समन्वयका युनिट खडा गरिएको थियो । छलफलका लागि मन्त्रालयका सचिवहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए । बैठक केही समयअघि सकिएको छ ।
“प्रतिबद्धता कडाइपूर्वक कार्यान्वयन हुन नसकेको सन्दर्भमा प्रधानमन्त्रीको विशेष चासो थियो । कार्यसूचीमा रहेका विषयमा ढिलासुस्ती नगरी समन्वयात्मक ढंगले द्रुत रूपमा पूरा गर्न छलफलमा प्रधानमन्त्रीबाट मौखिक निर्देशन भएको छ,” स्रोतले भन्यो, “प्रशासनिक सुधार, नागरिक सुरक्षा, सेवा प्रवाह, विकास निर्माण, पूर्वाधार जस्ता बिषयमा पनि चासो व्यक्त भएको छ । कार्ययोजना सम्पन्न गर्न समयसीमा निर्धारण गरेर रिजल्ट देखिने गरी काम गर्ने भन्ने कुरा हो ।”






