झापा, २६ असोज २०८३ । सशस्त्र प्रहरी बल, नेपालले झापाका विभिन्न स्थानबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका दुईवटा भारतीय कार र एक अटोसहित लाखौं रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेको छ।
बरामद गरिएका सामानमध्ये करिब ४०० केजी माछा भने नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हे।क्वा। झापाका अनुसार असोज २४ देखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खटिएका सशस्त्र प्रहरीका चेकजाँच तथा मोबाइल गस्ती टोलीले अवैध रूपमा भन्सार छली ल्याइएका सामानहरु बरामद गरेका हुन्।
असोज २५ गते साँझ बिर्तामोड नगरपालिका-८ स्थित देउनिया पुलमा सुरक्षा बेस गोलधापबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन नेपालीको कमाण्डमा रहेको टोलीले भारतीय नम्बर डब्लुबी७४एजी७०२७ प्लेटको कारमा राखेर नेपालतर्फ ल्याउँदै गरेको तीन बोरा पूजा सामग्री बरामद गरेको थियो। उक्त कार र पूजा सामग्री भद्रपुर भन्सार कार्यालयमा बुझाउँदा पूजा सामग्रीको मूल्य रु। २ लाख ७४ हजार ३४० र कारको मूल्य रु. १० लाख कायम गरिएको छ।
त्यसैगरी, असोज २४ गते अर्जुनधारा नगरपालिका-११ स्थित कालीझोडा क्षेत्रमा सुरक्षा बेस शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षक उमेश ठाकुरको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले अर्को डब्लुबी ७४बीसी १५२७ भारतीय कारसहित विभिन्न सामान बरामद गरेको थियो। कारमा अवैध रूपमा ल्याउँदै गरिएको २० जोर फुटबल लेग प्याड र ९५ दर्जन लेडिज लेगिङ्स बरामद गरिएको हो। बरामद सामानको मूल्य रु. १ लाख ७४ हजार तथा कारको मूल्य रु। १० लाख कायम गरी आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, असोज २६ (आज) दिउँसो कनकाई नगरपालिका –१ स्थित दुर्गापुर चोकबाट भारतीय सीमातर्फबाट अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरिएको करिब ४०० केजी विभिन्न जातका माछा र दुई रोल सेक्सन पाइपसहित मे १ ह ३५९२ नम्बरको अटो समेत सशस्त्र प्रहरी बलले बरामद गरेको थियो। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट सशस्त्र प्रहरी नायव निरीक्षक अमरबहादुर भुजेलको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।बरामद माछा पशु क्वारेन्टाइन कार्यालय तथा नेपाल प्रहरीका प्रतिनिधिको रोहबरमा सशस्त्र प्रहरी बलको गण परिसरमा खाडल खनी नष्ट गरिएको थियो। माछाको मूल्य रु। १ लाख २० हजार कायम गरिएको छ भने अटो र सेक्सन पाइप आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। उक्त अटो र सेक्सन पाइपको मूल्य रु। ३ लाख १० हजार कायम गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुजित बिष्टले सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको सक्रियता निरन्तर जारी रहेको बताए । उनले चाडबाडको अवसरमा हुन सक्ने चोरी पैठारी रोक्न तथा समग्र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल व्यापक रुपमा परिचालन भएको जानकारी दिए। उनले अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी, चेकजाँच तथा गस्तीलाई प्रभावकारी बनाइएको बताए ।






