Online Bichar
मंगलबार, आषाढ ३०, २०८३ | Tuesday, July 14, 2026

झापा, २७ असार २०८३ । झापाको शिवसताक्षी-८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा संचालकदेखि कर्मचारीसमेतले हिनामिना गरेको खुलेको छ ।

हालका अध्यक्ष दिपककुमार मेन्याङ्बोमार्फत कर्जा लगानी भएको (कागजात नभएको) १ करोड ४२ लाख ६२ हजार १८९ , व्यवस्थापक दिलु मगरमार्फत १ करोड ८३ लाख ,पूर्व अध्यक्ष राजेश निङ्गलेखुमार्फत कर्जा लगानी भएको (कागजात नभएको) ४० लाख ९६ हजार ८४० ,पूर्व संचालक समिति सदस्य विशाल शेर्मामार्फत कर्जा लगानी भएको (कागजात नभएको) २० लाख ९८ हजार ,पूर्व व्यवस्थापक बलराम राईमार्फत कर्जा लगानी भएको(कागजात नभएको)१० लाख २८ हजार ३८२,संचालक समिति सचिव सुवास लिम्बूमार्फत कर्जा लगानी भएको (कागजात नभएको) ३९ हजार ,शाखा व्यवस्थापक तिल चम्लागाईमार्फत कर्जा लगानी भएको (कागजात नभएको)१ लाख ७७ हजार ७५९ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

संस्थाले कर्जा लगानीमा लेखाङ्कन गरेको रकमले संस्थाको यथार्थ चित्रण नगरेको शिवसताक्षी नगरपालिकाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले लेखाङ्कन गरेको कर्जा लगानी हिसाबमा सस्थाका पूर्व अध्यक्ष, संचालक समिति सदस्य तथा व्यवस्थापक तथा बर्तामान अध्यक्ष ,संचालक समिति सदस्य तथा व्यवस्थापकहरुले आफ्‌नो नाममा, आफ्‌नो परिवारको नाममा तथा अन्य व्यक्तिहरुको नाममा कर्जा लगानी देखाई संस्थाबाट रकम झिकेको पाइएको छ । यी कर्जाहरु कर्जा लगानी गर्दा आवश्यक कागजपत्र नभएको, कर्जा लगानी प्रकृया पुरा नगरेको, ऋण नीति पालना नगरेको, ऋण लगानी गर्ने सीमाभन्दा बढी विना धितो लगानी गरेको पाइएको छ ।

संस्थाले सर्वसाधारणको धेरै निक्षेप फिर्ता गरेको छैन भने धितो राखेर ऋण लिएका ऋणीहरुको धितो अलपत्र पारेको छ । खिलमान राई , प्रेम भुजेल , लक्ष्मी खत्री , रीता काफ्‌ले , लुना खत्री , तोर्जिङ मगर , अम्बिका राई , लोकमान दर्जी , नारायण शिवाकोटीलगायतका धेरै सदस्यहरु संस्थाबाट पीडित भएका छन् ।

संस्थाको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परिसकेका छन् ।
खिलमान राईसहितका ९ जना बचतकर्ताहरुले आफ्‌नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि असार १० गते उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिनामिनामा अध्यक्ष लिम्बूसहित ८ जना संचालक र कर्मचारीहरु मुछिएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया