Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

पाँचथर, २५ असार २०८३ । पूर्वी पहाडी जिल्लाका प्रमुख राजमार्गको रुपमा रहेको मेची राजमार्ग र तमोर करिडरको सडक अवरोध हुँदा यातायात आवगामन रोकिएको छ ।

मेची राजमार्गको इलामको माइखोला नजिकको राजदुवालीमा सडक अवरुद्ध छ । यस्तै तमोर करिडोरको पाँचथर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढी आएकाले यातायत ठप्प छ ।

मेची राजमार्ग अवरुद्ध हुँदा इलामको, पाँचथर, ताप्लेजुङ र तेह्थुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । मेची राजमार्गको विकल्पकमा रहेको तमोर करिडोर पनि अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । यसले गर्दा राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ ।

राजदुवालीको सडक खुलाउन प्रयास भईरहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले बताए । सडक भासिएको र पानी परिरहेकाले सडक कहिले खुल्ने भन्ने यकिन नभएको उनले बताए ।

केही वर्ष यता राजदुवालीमा हरेक वर्षामा समस्या हुने गरेको छ । पछिल्लो वर्षका पटक(पटकका विपद्का कारण मेची राजमार्ग थिलथिलो भएको छ । मेची राजमार्ग बर्खामा कार लगायतका साना गाडी कुदाउन नहुने अवस्थामा पुगेको छ ।

तमोर करिडोरको नावा खोलामा पुल नबनेकाले हरेक वर्ष समस्या हुने गरेको छ । तमोरमा आठवटा पुलको ठेक्का लागेपनि सम्पन्न नहुँदा वर्षायाममा समस्या भइरहेको छ ।

तपाईको प्रतिक्रिया