Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

काठमाडौं, २५ असार २०८३ । प्रतिपक्षी दलहरूको विरोधको शैलीका सन्दर्भमा सभामुखले गरेको व्यवहारमाथि नेपाली कम्युनिस्ट पार्टीले प्रश्न उठाएको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिमा प्रश्न उठाइरहेका छन् । यसमा जवाफ मागिरहेका छन् ।

सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्ने सन्दर्भमा आएको विरोधको शैली फेर्न सभामुखले विपक्षी दलहरूलाई आग्रह गरेका थिए । यसमाथि नै नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले प्रश्न उठाएका हुन् ।

‘आज सभामुख महोदयले आन्दोलनको रूप फेर्नको निमिक्त भन्नुभयो । उहाँले किन भन्नुसक्नुभएन प्रधानमन्त्रीज्यू यहीँ आएर क्लियरीफाइ गर्नु भनेर’ सांसद हमालले भने ।

विपक्षी दलहरूले प्रधानमन्त्रीउपर उठेको विषयमा सभामुखले जवाफ दिने गरी रुलिङ गर्नुपर्ने माग समेत राख्दै आएका छन् । उल्टै विपक्षीलाई नै विरोधको शैली फेर्न भनेपछि नेकपाले प्रतिप्रश्न गरेको हो ।

राष्ट्रियताको सन्दर्भमा आफूहरू अडिग रहेको प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध गरिरहने सांसद हमालले बताए ।

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।

संसद्मा उठेका प्रश्नको जवाप सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने प्रावधान पनि छ । प्रतिनिधिसभा नियमाली अनुसार पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्नेमा त्यसो नगरेको भनेर विपक्षीले प्रश्न उठाएका छन् ।

प्रतिनिधिभा नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने थियो । त्यो पनि भएको छैन ।

यस्तोमा सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सभामुखले भूमिका खेल्नुपर्ने विपक्षी दलहरूको माग रहँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया