काठमाडौं, २५ असार २०८३ । विगत दुई दिनमा इरानका पाँच प्रान्तमा अमेरिकी आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । ७८ जना घाइते भएका इरानी स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
“अमेरिकाले जुलाई ८ र ९ मा इरानका पाँचवटा प्रान्तलाई निसाना बनाएर आक्रमण गरेको छ,” मन्त्रालयको जनसम्पर्क तथा सूचना केन्द्रका प्रमुख हुसेन केर्मानपुरले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
उनले ती आक्रमणमा हालसम्म १४ को मृत्यु र ७८ जना घाइते भएका जनाएका हुन् ।
घाइतेमध्ये ४७ जना अझै पनि अस्पतालमा उपचाररत छन् । बाँकीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।
दक्षिणपश्चिमी सहर अहवाजनजिक गरिएको आक्रमणमा तीनजनाको मृत्यु भएको जनाइएको छ ।
गएको महिना गरिएको युद्धविराम सम्झौता भंगपश्चात् अमेरिका र इरानबीच पुनः सैन्य द्वन्द्व सुरु भएको छ ।
होर्मुज जलमार्ग हुँदै गइरहेका तीन व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेको आरोप अमेरिकाले लगाएपछि दुई देशबीचको तनाव थप चर्किएको हो । त्यसको जवाफमा वासिङटनले इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका सैन्य लक्ष्यमा लगातार हवाई आक्रमण सुरु गरेको थियो ।
अमेरिकी सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय जलक्षेत्रमा हुने थप आक्रमण रोक्ने उद्देश्यले दुई दिनको अवधिमा वायुरक्षा प्रणाली, तटीय निगरानी केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन पूर्वाधार, नौसैनिक क्षमता र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका सैन्य अड्डासहित १७० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।
जवाफमा इरानले पनि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य सुविधालक्षित ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिएको जनाएको छ ।
इरान र अमेरिकाबीच सैन्य द्वन्द्व अन्त्य गरी स्थायी शान्ति सम्झौताको बाटो खोल्ने उद्देश्यले जुन १७ मा पाकिस्तानको मध्यस्थतामा एक समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । तर, बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समझदारी सकिएको घोषणा गरेसँगै उक्त सम्झौता औपचारिक रूपमा अन्त्य र दुई देशबीच सैन्य टकरावको नयाँ चरण सुरु भएको जनाइएको छ ।






