काठमाडौं, २४ असार २०८३ । अमेरिका र इरानबीचको ताजा सैन्य टकरावले पश्चिम एसियामा सुरक्षा संकट फेरि एकपटक गहिरिएको छ । नयाँ सैन्य कारबाहीले दुई देशबीच भएको युद्धविरामलाई कमजोर नबनाएर यस क्षेत्रमा शान्ति स्थापनाका लागि भइरहेका प्रयासहरूमाथि पनि गम्भीर प्रश्न खडा गरिदिएको विश्लेषण गरिएको छ ।
अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध पुर्याए महँगो मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनी
यसैबीच अमेरिकाले इरानमाथि भीषण हवाई आक्रमण गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध पुर्याए महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, होर्मुज जलमार्गबाट गुज्रिरहेका तीनवटा व्यापारिक जहाजमाथि इरानले गरेको आक्रमणको जवाफस्वरूप यो हवाई हमला गरिएको हो । अमेरिकी सेनाले अन्तर्राष्ट्रिय समुद्री मार्गलाई निसाना बनाउनेहरूले भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
यसको विपरीत, इरानको विदेश मन्त्रालयले अमेरिकामाथि दुई देशबीच भएको समझदारीपत्रको बारम्बार उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले इरान आफ्नो राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि आवश्यक पर्ने जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पारेको छ ।
सैन्य अड्डा र मिसाइल प्रणालीमा भीषण बमबारी
अमेरिकाले इरानका सैन्य अड्डा र मिसाइल प्रणालीमा भीषण आक्रमण गरेको छ । अमेरिकी सेनाका अनुसार, यस हवाई हमलामा होर्मुज जलमार्गनजिक रहेका इरानी सैन्य प्रतिष्ठानहरूलाई निसाना बनाइएको छ । तीमध्ये इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी संयन्त्र, सतहबाट हावामा मार हान्ने मिसाइल प्रणाली, एन्टी–सिप क्रुज मिसाइल अड्डा, ड्रोन प्रक्षेपणस्थल तथा बन्दरगाहसँग सम्बन्धित पूर्वाधार छन् ।
एक अमेरिकी अधिकारीले ‘एक्जियोस’सँग कुरा गर्दै यो आक्रमण १० दिनअघि गरिएको हमलाको तुलनामा चारदेखि पाँच गुणा बढी शक्तिशाली र व्यापक रहेको दाबी गरेका छन् । अप्रिलमा भएको युद्धविरामयता अमेरिकाले इरानमाथि गरेको यो सबैभन्दा ठूलो सैन्य कारबाही भएको बताइएको छ । अर्का एक अधिकारीले भने, “यो केवल जवाफी कारबाही मात्र होइन, बरु सजाय दिने उद्देश्यले गरिएको हो । यो सजाय हो, र यो यत्तिकै रोकिनेवाला छैन ।”
तेल बिक्रीमा दिइएको छुट खारेज
सैन्य कारबाहीसँगै अमेरिकाले इरानी कच्चा तेल बिक्रीका लागि दिइएको अस्थायी छुट पनि रद्द गरिदिएको छ । यसअघि जुन २१ मा अमेरिकी वित्त मन्त्रालयले प्रतिबन्ध केही खुकुलो पार्दै अगस्ट २१ सम्मका लागि इरानी तेल तथा पेट्रोकेमिकल उत्पादन बिक्री गर्न अनुमति दिएको थियो ।
‘द टाइम्स अफ इजरायल’का अनुसार, होर्मुज जलमार्गमा इरानका गतिविधि अस्वीकार्य भएको निष्कर्षसहित अमेरिकाले उक्त छुट फिर्ता लिएको हो । यसको जवाफमा इरानले अमेरिकी निर्णयको कडा निन्दा गर्दै अस्थायी प्रतिबन्ध फुकुवाको निर्णय फिर्ता लिनु जुन १८ मा भएको ‘इस्लामावाद समझदारीपत्र’को धारा–१० को ठाडो उल्लंघन भएको जनाएको छ ।
बहराइनमा संकटकालीन साइरन : नागरिकलाई सुरक्षित स्थानमा जान अपिल
दुई देशबीच तनाव उत्कर्षमा पुगेपछि छिमेकी देश बहराइनको गृह मन्त्रालयले बुधबार देशभर ‘इमर्जेन्सी अलार्म साइरन’ बजाएको छ । मन्त्रालयले नागरिक तथा बासिन्दालाई शान्त रहन र तत्काल नजिकको सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
सरकारी सञ्चारमाध्यममार्फत जारी सूचनामा नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकता दिन र अवस्था सामान्य नहुँदासम्म अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियान इराकको भ्रमण छोट्याएर तेहरान फर्किएका छन् । इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार, उनी पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकको नजफ पुगेका थिए । अमेरिकाले इरानमाथि ठूलो स्तरको सैन्य कारबाही सुरु गरेकै समयमा राष्ट्रपति पेजेस्कियान बुधबार बिहान नजफबाट तेहरानका लागि प्रस्थान गरेका हुन् ।






