Online Bichar
बुधबार, आषाढ २४, २०८३ | Wednesday, July 8, 2026

काठमाडौं, २४ असार २०८३ । ‘अलनिनो’ भनिने मौसमी प्रणाली यस वर्ष अहिलेसम्मकै ऐतिहासिक रेकर्डस्तरमा पुग्नसक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

‘युरोपियन सेन्टर फर मिडियम–रेन्ज वेदर फोरकास्ट्स’का विशेषज्ञ टिम स्टकडेलका अनुसार तीन दशकयता पहिलोपटक मौसम पूर्वानुमानका मोडेलहरू यति धेरै बलियो र एकमत देखिएका छन् ।

स्टकडेलले हाल विकसित भइरहेको अलनिनोले विगतका रेकर्ड तोड्ने सम्भावना अत्यधिक रहे पनि मौसमको स्वाभाविक उतारचढावका कारण यसको शतप्रतिशत ग्यारेन्टी भने गर्न नसकिने बताए ।

के हो अलनिनो र यसले कसरी असर गर्छ ?
अलनिनो सक्रिय हुँदा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम अस्वाभाविक रूपमा बढ्छ । तापक्रममा हुने यही वृद्धिले विश्वभरको वर्षा प्रणाली, हावाको बहाव र वायुमण्डलीय चापको चक्रलाई प्रभावित पार्छ ।

विश्व मौसमविज्ञान संगठन र अमेरिकी मौसम एजेन्सीहरूले पनि यो मौसमी प्रणाली तीव्र रूपमा शक्तिशाली बन्दै गएको संकेत गरेका छन् ।

वैज्ञानिकहरूका अनुसार विश्वव्यापी जलवायु परिवर्तन र अलनिनोको संयुक्त प्रभावका कारण पृथ्वीको औसत तापक्रम थप बढ्नेछ । र, चरम मौसमी विपत्तिहरूको जोखिम अझ बढ्नेछ ।

विभिन्न क्षेत्रमा फरक–फरक प्रभाव
यस महासागरीय चक्रको प्रभाव विश्वका विभिन्न क्षेत्रमा फरक–फरक रूपमा देखिने अनुमान गरिएको छ ।

नेपाल, भारतलगायत दक्षिण एसिया क्षेत्रमा मनसुन कमजोर हुने सम्भावना रहेको छ, जसका कारण कृषि उत्पादनमा गम्भीर असर पर्नुका साथै खडेरीको जोखिम बढ्न सक्ने अनुमान छ ।

अस्ट्रेलियामा अत्यधिक गर्मी, डढेलो र पानीका मुहान सुक्ने जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।

दक्षिण अमेरिका खासगरी पेरु र इक्वेडरमा प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका यी देशहरूमा सामान्यभन्दा धेरै वर्षा हुने, भीषण बाढी आउने तथा पहाडी क्षेत्रमा पहिरो जाने जोखिम रहेको वैज्ञानिकहरूले बताएका छन् ।

यस सम्भावित प्राकृतिक विपत्ति र खाद्यान्न संकटलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा प्रभावित हुनसक्ने धेरै देशहरूले पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सुरु गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया