एजेन्सी, २२ असार २०८३ । भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण आवासीय भवन भत्किँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सोमबार जनाएका छन्।
मुम्बईकी मेयर ऋतु तावडेका अनुसार आइतबार सहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए। उद्धार टोलीले घटनास्थलबाट शवहरू निकालेको बताइएको छ।
भारत मौसम विज्ञान विभागले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरेको जनाउँदै मुम्बईका लागि ‘रेड अलर्ट’ जारी गरेको छ। निरन्तर वर्षा र तीव्र हावाको सम्भावनासँगै विद्यालय तथा कलेजहरू बन्द गरिएको छ।
अधिकारीहरूले वर्षाका कारण रूख तथा संरचना ढल्ने जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक नभएसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
मुम्बईमा हप्ता दिनदेखिको प्रचण्ड गर्मीपछि मुसलधारे वर्षा परेको हो। यसअघि गत महिना अधिकारीहरूले पानीको अभावका कारण पानीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए भने स्विमिङ पुल र निर्माण स्थलहरूमा पानी आपूर्ति कटौती गरिएको थियो।
दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यो सहरमा डेटा–सेन्टर पूर्वाधार विस्तारसँगै पानीका स्रोतहरूमा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ। ती केन्द्रहरूलाई शीतलनका लागि ठूलो मात्रामा पानी आवश्यक पर्ने भएकाले आपूर्ति व्यवस्थामा थप तनाव सिर्जना हुन सक्ने बताइएको छ।






