Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

केशवराज जोशी

अनलाइन बिचार, २३ फागुन । निर्मला हत्या प्रकरणः एसपी विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर, डिएसपीसहित ६ पक्राउ

काठमाडौं । निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको थियो । उनीहरु सबै कञ्चनपुर प्रहरीको हिरासतमा रहेको प्रवक्ता सुवेदीले बताए ।

सुवेदीले एसपी विष्ट र अंगुर जिसी भने अदालतमा उपस्थित नभएको जानकारी दिए । ‘‘अब अदालतमा दुवै पक्षको बहस हुन्छ । दुवै पक्षको बहसपछि अदालतले के आदेश दिन्छ, त्यसरी नै हामी अगाडि बढ्छौं,’’ प्रवक्ता सुवेदीले भने । यस्तोमा अदालतले अभियुक्तसँग बयान लिएर धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागारसमेत पठाउन सक्नेछ । गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको समितिले प्रतिवेदनमा औंल्याइएको थियो । निर्मलाको बलात्कार तथा हत्यामा संलग्नको खोजी कार्य जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

१२खरीबाट शाभार

तपाईको प्रतिक्रिया