Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, १४ असार २०८३ । भारतीय विदेश मन्त्रालयले आफ्ना नागरिकलाई आवश्यक ‘ट्राभल डकुमेन्ट्स’ प्राप्त नगरेसम्म कैलाश मानसरोवर यात्रा सुरु नगर्न सल्लाह दिएको छ । निजी टुर अपरेटरमार्फत यात्रामा निस्किएर नेपालमा अलपत्र परेका भारतीय तीर्थयात्रीले उद्धार र सहयोगका निम्ति आग्रह गरेपछि मन्त्रालयले यो ट्राभल एडभाइजरी जारी गरेको हो ।

विदेश मन्त्रालयका अनुसार, निजी टुर अपरेटरमार्फत कैलाश मानसरोवर यात्रामा निस्किएका केही भारतीय नागरिक चीन प्रवेशका निम्ति अनिवार्य रूपमा चाहिने अनुमतिपत्र र भिसा नलिईकनै नेपाल आइपुगेका थिए ।

कागजपत्र नपुगेका कारण कैयौँ तीर्थयात्री अगाडि बढ्न नपाई अलपत्र परेका र उनीहरूले मन्त्रालयसँग सहयोगको याचना गरिरहेका जनाइएको छ ।

मन्त्रालयले आवश्यक सबै दस्ताबेज सुनिश्चित नगरी यात्रा सुरु नगर्न आग्रह गर्दै भनेको छ, “नेपाल पुगेपछि वा यात्राकै क्रममा परमिट र भिसा मिल्नेछ भन्ने अनुमानका भरमा यात्रामा निस्कँदा बीचबाटोमा ठूलो सास्ती र कठिनाइ भोग्नुपर्ने हुन्छ ।”

तीर्थयात्रीको यात्रा सुरक्षित, व्यवस्थित र झन्झटमुक्त होस् तथा भक्तजनले कुनै पनि दुःख नपाऊन् भन्ने उद्देश्यले यो निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले सबै तीर्थयात्रीलाई यात्रामा निस्कनुअघि आफूले रोजेको टुर अपरेटर सरकारी निकायमा विधिवत् रूपमा दर्ता भएरनभएको र इजाजतप्राप्त गरेरनगरेको राम्ररी जाँचबुझ र प्रमाणीकरण गर्न समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया