Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झापा, ११ असार २०८३ । झापामा नवजात शिशुको हत्या तथा हाडनाता करणी सम्बन्धी गम्भीर घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  २०८३ वैशाख २ गते शिवसताक्षी नगरपालिकाको खाली जग्गामा नवजात शिशु गाडिएको अवस्थामा शव फेला परेको थियो। शव गाडिएको अवस्थामा फेला परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा पीडित किशोरीले आफ्नै बुवाले जबर्जस्ती करणी गरेपछि आफू गर्भवती भएको र बच्चा जन्मिएपछि बुवाको सल्लाहमा शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय झिलझिलेले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। अदालतबाट पक्राउ अनुमति लिएर खोजी कार्य जारी राखिए पनि प्रतिवादी फरार रहेका थिए।

प्राविधिक अनुसन्धान र विभिन्न जिल्लाका प्रहरीसँगको समन्वयमा प्रतिवादी रोल्पा जिल्लामा लुकेर बसेको खुलेको थियो। त्यसपछि उनी विभिन्न स्थानमा बसाइँ सर्दै लुक्दै आएको अवस्थामा विशेष सूचनाका आधारमा ३ असार २०८३ मा इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मन्त्र होटलबाट पक्राउ परेका हुन्।

प्रहरीले प्रतिवादीलाई आफ्नी छोरीसँग बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउपछि उनलाई झापा ल्याई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यस घटनामा संलग्न किशोरी पीडितलाई भने आवश्यक संरक्षणका लागि आफन्त नेपाल काँकरभिट्टामा राखिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया