काठमाडौं, १० असार २०८३ । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध र ठगी नियन्त्रण गर्न बैंकहरूलाई थप उत्तरदायी बनाएको छ ।
केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै वित्तीय अपराध रोक्न बैंकहरू अब २४सै घण्टा ‘अलर्ट’मा बस्नुपर्ने व्यवस्था ल्याएको हो ।
अबदेखि कुनै पनि संदिग्ध बैंक खाता रोक्का राख्न अनुसन्धान अधिकारी वा कानुनी निकायले अनुरोध गरेमा बैंकहरूले २४सै घण्टा कार्य सम्पादन गर्नुपर्ने भएको छ ।
“वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको मौखिकरलिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न २४/७ कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ,” संशोधित एकिकृत निर्देशनमा उल्लेख छ ।
उक्त कार्यलाई प्रभावकारी बनाउन बैंकहरूले आ–आफ्नो वेबसाइटमा अनिवार्य रूपमा एक सम्पर्क नम्बर सार्वजनिक गर्न निर्देशन दिएको छ ।
साथै, कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थासँग विवरण माग गरेमा सोझै यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।






