Online Bichar
मंगलबार, आषाढ ०९, २०८३ | Tuesday, June 23, 2026

काठमाडौं, ८ असार २०८३ । फिलिपिन्सको मध्यक्षेत्र टाक्लोबानस्थित एक माध्यमिक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा ३ विद्यार्थीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरीले १५ र १४ वर्षका दुई किशोरले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएको जनाएको छ ।

घटना स्थानीय समयअनुसार बिहान करिब ९ बजे लेइते प्रान्तको टाक्लोबान सहरस्थित सान जोसे नेशनल हाइस्कुलमा भएको एएफपीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा विद्यार्थीहरू चिच्याउँदै रोइरहेको तथा गोलीको आवाजबीच कक्षाकोठाभित्र लुकेर ज्यान जोगाउने प्रयास गरिरहेको देखिन्छ । ती भिडियोहरु आफूले प्रमाणित समेत गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै टाक्लोबान शहरका सुरक्षाकर्मी विद्यालय पुगेका थिए । प्रहरीले क्षेत्रलाई सुरक्षित बनाएर घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार घटनामा ७ जना घाइते भएका छन् भने तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक र घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन ।

शिक्षा मन्त्रालयद्वारा उच्च सतर्कता घोषणा

फिलिपिन्सको शिक्षा मन्त्रालयले ‘उच्च सतर्कताको अवस्था’ भन्दै अधिकारीहरूलाई घटनास्थलमा खटाएको जनाएको छ ।

टाक्लोबान विद्यालय प्रमुख शेरलिटा पाल्माले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल सहायता उपलब्ध गराइने बताएकी छन् ।

उनका अनुसार प्रभावित विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ । साथै सरकार तथा विपद् व्यवस्थापन निकायसँग समन्वय गरेर थप सहयोग पनि पुर्‍याइनेछ ।

प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ । प्रारम्भिक रूपमा विद्यालयभित्र हुने दुर्व्यवहार (बुलिइङ) वा व्यक्तिगत रिसइबीका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

साथै, किशोरहरू विद्यालयभित्र हतियार कसरी ल्याउन सफल भए भन्ने विषय पनि अनुसन्धानको केन्द्रमा रहेको छ ।

प्रहरीले ‘रोड’ र ‘न्यास’ उपनामले चिनिएका दुई किशोरलाई नियन्त्रणमा लिएको छ । उनीहरू नाबालक भएकाले बाल न्याय र बाल संरक्षणसम्बन्धी कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइने जनाइएको छ ।

अनुसन्धानकर्ताले घटनास्थलबाट रिभल्बर र पेस्तोल बरामद भएको र ती दुवै हतियार फरेन्सिक परीक्षणका लागि पठाइएको जनाएका छन् ।

टाक्लोबान सिटी प्रहरी प्रमुखले घटनालाई अत्यन्त दुस्खद् भन्दै सत्य तथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धान गरिने बताएका छन् ।

उनले नाबालकसँग सम्बन्धित घटनाद भएकाले कानुनी प्रक्रिया र गोपनीयताको सम्मान गर्न तथा अपुष्ट सूचना नफैलाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

फिलिपिन्समा दुर्लभ घटना

फिलिपिन्समा विद्यालयभित्र हुने गोलीकाण्ड दुर्लभ मानिन्छ । त्यहाँ कानुनी रूपमा हतियार स्वामित्व कडा रूपमा नियन्त्रित भए पनि अवैध हतियारको कालोबजारी सक्रिय रहेको बताइन्छ ।

सन् २०२२ मा मनिला विश्वविद्यालयमा दीक्षान्त समारोहअघि भएको गोलीकाण्डमा पूर्व नगरप्रमुखसहित ३ जनाको मृत्यु भएको थियो । त्यस घटनाको कारण व्यक्तिगत रिसइबी रहेको निष्कर्ष निकालिएको थियो।

सोमबारको घटनापछि देशभरका विद्यालयको सुरक्षा व्यवस्थामाथि पुनस् प्रश्न उठेको छ भने नाबालक संलग्न हिंसात्मक घटनाबारे चिन्ता बढेको छ ।

तपाईको प्रतिक्रिया