झापा, ५ असार २०८३ । झापाको सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गएराति ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो। टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ब ३१८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।
त्यसक्रममा चालक शिवसताक्षी नगरपालिका–९ निवासी २२ वर्षीय नगिन्द्र दर्जीको साथबाट कालो प्लास्टिकमा पोको पारेर लुकाइछिपाइ ल्याइएको प्लाष्टिकबाहेक१ ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
सोही मोटरसाइकलमा सवार कनकाई नगरपालिका–३ निवासी ३७ वर्षीय बलबहादुर सुवेदीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सो मोटरसाइकल पशु सेवा कार्यालय भद्रपुरको नाममा दर्ता रहेको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । सो मोटरसाइकल पशु सेवा कार्यालयले २०७३ सालमा कन्काई नगरपालिकालाई हस्तान्तरण गरेको थियो । कन्काई नगरपालिकाको अधिनमा रहेको सो मोटरसाइकल चोरी गरी दर्जी र सुवेदीले चलाउँदा पक्राउ परेको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।






