झापा, ५ असार २०८३। झापाको कनकाईमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडकमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा बाबु र छोरीको मृत्यु भएको हो ।
शुक्रबार (आज) मध्यान्ह १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१ त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा ४५ वर्षीया आमा नुरेश सादेवी घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






