काठमाडौं, ४ असार २०८३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता अहिले पूर्ण रूपमा लागु भइसकेको ह्वाइट हाउसले बीबीसीलाई जनाएको छ ।
ह्वाइट हाउसका अनुसार यस दस्तावेजमा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि हस्ताक्षर गरिसकेका छन् ।
गत आइतबार इरानी संसद्का सभामुख मोहम्मद बगेर कालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यस सम्झौतामा इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरेका थिए । त्यसको निरन्तरतास्वरूप अहिले दुवै देशका राष्ट्रपतिहरूले पनि यसमा हस्ताक्षर गरेका हुन् ।
यसअघि ट्रम्प र इरानी अधिकारीहरूले यसै हप्ताको अन्त्यतिर एक औपचारिक हस्ताक्षर समारोह आयोजना हुने संकेत दिएका थिए । तर, दुवै नेताले हस्ताक्षर गरिसकेको अवस्थामा अब त्यो औपचारिक समारोह पूर्वनिर्धारित रूपमा अघि बढ्छ वा बढ्दैन भन्ने स्पष्ट भइसकेको छैन ।
ह्वाइट हाउसका अनुसार यो सम्झौता लागु भएसँगै अब थप गर्न सकिने ६० दिने अवधि सुरु भएको बताइएको छ, जसमा अमेरिका र इरानले अन्तिम तथा विस्तृत सम्झौतामा पुग्नका लागि वार्ता गर्नेछन् ।
ट्रम्पद्वारा सम्झौताका मुख्य बुँदा सार्वजनिक
फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी अधिकारीहरूले ट्रम्प प्रशासन र इरानबीच भएको यस सहमति पत्रका मुख्य विवरण सार्वजनिक गरेका छन् ।
आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने भनिएको औपचारिक समारोहअघि सार्वजनिक गरिएका मुख्य बुँदाहरूमा परमाणु हतियारमा पूर्ण प्रतिबन्ध, युद्धको स्थायी अन्त्य, पुनर्निर्माणका लागि कोष स्थापना, होर्मुज जलमार्ग खुला रहनेलगायत विषय समावेश छन् ।
१४ अनुच्छेद लामो यस सम्झौतामा इरानले कहिल्यै पनि परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाएको छ । सम्झौताले लेबनानसहित सबै मोर्चाहरूमा जारी सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको छ ।
इरानको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ । तर, यसमा अमेरिकाले रकम योगदान गर्नुपर्ने कुनै बाध्यता रहने छैन ।
होर्मुज जलमार्गमा व्यापारिक आवागमन पुरानै अवस्थामा फर्किने र कम्तीमा ६० दिनसम्म यो मार्ग पूर्ण रूपमा निःशुल्क रहने उल्लेख गरिएको छ ।
इरानमाथि अमेरिकाले लगाउँदै आएका आर्थिक प्रतिबन्धहरू हटाइनेछन् । दुवै पक्ष बढीमा ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्न र त्यसलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छन् । आपसी सहमतिमा यो अवधिलाई थप विस्तार गर्न पनि सकिने बताइएको छ ।
यसैबीच, फ्रान्सको जी–७ सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले यदि इरानले सम्झौताका सर्तहरू पालना नगरे अमेरिकाले त्यहाँ कडा बमबारी गर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले यो सम्झौता अझै अन्तिम नभएको स्मरण गराउँदै भने, “यदि, उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी फेरि उनीहरूको टाउकोको बीचमा सिधै बम खसाल्न सुरु गर्नेछौँ ।”
फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँसँग भर्साइमा आयोजना गरिएको राजकीय भोजमा सहभागी हुन पेरिस पुगेका ट्रम्पले ६० दिनको यो वार्ता अवधि इरानका लागि कुनै कठोर समयसीमा नभएको र आवश्यक परे यसलाई बढाउन सकिने स्पष्ट पारे ।
अमेरिकी राष्ट्रपतिको यस कडा चेतावनीपछि ट्रम्प प्रशासनसँग भएको सम्झौता वार्ताको नेतृत्व गरेका इरानी संसद्का सभामुख मोहम्मद बगेर कालिबाफले इरानी सरकार नियन्त्रित सञ्चारमाध्यममार्फत प्रतिक्रिया दिएका छन् ।
उनले अमेरिकाप्रतिको आफ्नो अविश्वास अझै कायम रहेको स्पष्ट पार्दै इरानको औँला अझै पनि बन्दुकको ट्रिगरमै रहेको बताएका छन् । बीबीसी






