काठमाडौं, ४ असार २०८३ । इरानले अमेरिकासँग भएको प्रारम्भिक शान्ति सम्झौतापछि पनि होर्मुज जलमार्ग पूर्ण रूपमा युद्धअघिको अवस्थामा नफर्किने जनाएको छ ।
इरानका सभामुख एवं प्रमुख वार्ताकार मोहम्मद बगेर कालिबाफले ६० दिनको अन्तरिम अवधिपछि होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क असुल गरिने घोषणा गरे ।
बुधबार कालिबाफले होर्मुजमा इरानको सार्वभौम अधिकार रहेको दाबी गरे । साथै, त्यहाँ प्रदान गरिने सेवाहरूको बदलामा शुल्क लिनु स्वाभाविक भएको बताए । अन्तर्राष्ट्रिय समुद्री कानुन र जलयात्रासम्बन्धी स्थापित नियमहरूको पालना गरेर यो व्यवस्था लागु गर्ने उनको भनाइ छ ।
अमेरिका र इरानबीचको प्रारम्भिक समझदारीअनुसार होर्मुज जलमार्ग आगामी ६० दिनसम्म कुनै अतिरिक्त शुल्कबिना खुला रहनेछ । यस अवधिमा दुवै पक्षले विस्तृत तथा स्थायी परमाणु र सुरक्षासम्बन्धी सम्झौताका लागि वार्ता जारी राख्नेछन् ।
सम्झौतापछि इरानलाई पुनः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल निर्यात गर्ने अनुमति प्राप्त भएको छ । ६० दिनको वार्तापछि अमेरिका र इरानबीच अन्तिम सम्झौता भए इरानमाथि वर्षौंदेखि लागु रहेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउने प्रक्रियालाई अगाडि बढाइने अपेक्षा गरिएको छ ।






