Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

एजेन्सी, २२ जेठ २०८३ । गुगलको अनुसन्धान परियोजना ‘डिबग’ले डेँगी, जिका र पहेँलो ज्वरोजस्ता रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न नयाँ रणनीति अघि सारेको छ । परियोजनाअन्तर्गत अमेरिकाको फ्लोरिडा र क्यालिफोर्नियामा करोडौँ बाँझा भाले लामखुट्टे छोड्ने तयारी गरिएको छ । जसलाई गुगलको ‘लामखुट्टे सेना’ योजना भनिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार ‘एडिस एजिप्टाई’ नामक रोगबाहक लामखुट्टेको संख्या घटाउन वोल्बाचिया नामक ब्याक्टेरियाद्वारा संक्रमित गरिएका भाले लामखुट्टेहरू प्राकृतिक वातावरणमा छोडिनेछन् ।

ती भाले लामखुट्टेले पोथीसँग समागम गरेपछि अण्डाबाट बच्चा निस्कँदैन, जसले क्रमशः उक्त प्रजातिको संख्या घटाउने अपेक्षा विज्ञहरूको रहेको छ ।

वैज्ञानिकहरूका अनुसार भाले लामखुट्टेले मानिसलाई टोक्दैनन् । त्यसैले लाखौँको संख्यामा लामखुट्टे छोडिए पनि मानिसहरूमा थप टोकाइको जोखिम नबढ्ने दाबी गरिएको छ ।

एउटा पोथी लामखुट्टेले जीवनकालमा एकसय भन्दा बढी अण्डा पार्न सक्ने भएकाले बाँझा भालेसँगको एकपटकको समागमले ठूलो संख्यामा नयाँ लामखुट्टे जन्मिनबाट रोक्न सक्छ ।

डिबग परियोजनाले पहिलो चरणमा करिब १ करोड ६० लाख बाँझा भाले लामखुट्टे छोड्ने योजना बनाएको छ ।

वैज्ञानिकहरूका अनुसार एडिस एजिप्टाई मूलतः अफ्रिकी मूलको मिचाहा प्रजाति हो, जसले डेँगी, जिका भाइरस, चिकनगुनिया र पहेँलो ज्वरोजस्ता रोग फैलाउँछ । विश्वको करिब ४० प्रतिशत जनसंख्या यसले फैलाउने रोगको जोखिममा रहेको अनुमान गरिएको छ ।

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका अनुसन्धानकर्ता ‘म्याथ्यू डि जेनारो’का अनुसार फ्लोरिडामा यस प्रजातिको पुरानो र ठूलो संख्या रहेको छ । उनले यसलाई ‘धेरै खराब लामखुट्टे’को संज्ञा दिँदै फ्लोरिडाको रैथाने प्रजाति नभएकाले यसको नियन्त्रणले स्थानीय पारिस्थितिक प्रणालीमा ठूलो असर नपर्ने बताए ।

त्यस्तै, बर्कट–काडेनाका अनुसार कुनै पनि स्थानीय जनावर यस प्रजातिमाथि विशेष रूपमा निर्भर नरहेका कारण यसको संख्या घटाउँदा खाद्य शृंखला प्रभावित हुने सम्भावना न्यून छ । उनले थपे, “यदि यस्ता कार्यक्रमहरूले स्थानीय वा रैथाने लामखुट्टे प्रजातिलाई लक्षित गरेको भए वातावरणीय सन्तुलनमा असर पर्ने चिन्ता हुन सक्थ्यो, तर एडिस एजिप्टाई गैर–रैथाने भएकाले यस्तो जोखिम कम छ ।”

वातावरणीय असरबारे के भन्छन् विज्ञ ?

विशेषज्ञहरूका अनुसार एडिस एजिप्टाई अमेरिकाको रैथाने प्रजाति नभएकाले यसको संख्या घटाउँदा स्थानीय जैविक प्रणालीमा ठूलो असर पर्ने सम्भावना कम छ । विभिन्न देशमा वोल्बाचिया संक्रमित लामखुट्टे प्रयोग गर्दै आएको छ । यस्तो प्रविधि अपनाइएका क्षेत्रमा डेँगीको प्रकोप उल्लेखनीय रूपमा घटेको पाइएको विज्ञहरूको भनाइ छ ।

विज्ञहरू भन्छन्, “मानव गतिविधिकै कारण विश्वभर फैलिएको एडिस एजिप्टाईलाई नियन्त्रण गर्नु सार्वजनिक स्वास्थ्यको दृष्टिले आवश्यक कदम हो ।” उनीहरूका अनुसार अधिकांश लामखुट्टे हानिकारक नभए पनि रोग फैलाउने केही प्रजातिले मानव जीवनमा गम्भीर जोखिम सिर्जना गर्ने भएकाले वैज्ञानिक हस्तक्षेप अपरिहार्य छ ।

अस्ट्रेलियाको वल्र्ड मस्क्युटो प्रोग्रामले डेँगी, जिका र चिकुनगुनिया जस्ता रोग फैलाउने लामखुट्टेविरुद्ध विश्वका विभिन्न देशमा वोल्बाचिया ब्याक्टेरिया संक्रमित लामखुट्टे छोड्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

एसियाका केही मुलुक र अमेरिकाका १५ देशमा लागु गरिएको यस कार्यक्रमअनुसार वोल्बाचिया ब्याक्टेरिया एक पुस्ताबाट अर्को पुस्तामा सर्ने भएकाले रोग सार्ने एडिस एजिप्टाईको क्षमता दीर्घकालीन रूपमा कमजोर हुँदै जान्छ ।

प्रकृतिमा मानव हस्तक्षेपको नैतिक पक्षबारे बहस जारी रहे पनि कीराविज्ञहरू भने जनस्वास्थ्यको सुरक्षाका लागि यस्ता कदम आवश्यक रहेको बताउँछन् । युनिभर्सिटी अफ फ्लोरिडाका कीराविज्ञ बर्कट–काडेनाले आफू लामखुट्टेलाई माया गर्ने व्यक्ति भए पनि रोग फैलाउने मिचाहा प्रजातिमाथि नियन्त्रण गर्नु मानव जीवनको सुरक्षाका लागि अपरिहार्य भएको बताए ।

डेँगीलगायत लामखुट्टेजन्य रोग विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा बढिरहेका बेला गुगलको डिबग परियोजनाले जैविक नियन्त्रणको नयाँ विकल्प प्रस्तुत गरेको छ । अमेरिकी नियामक निकायबाट अनुमति पाएमा आगामी वर्षहरूमा यो प्रविधि अन्य प्रभावित क्षेत्रहरूमा पनि विस्तार हुन सक्ने अनुमान गरिएको छ । डीडब्लूबाट

तपाईको प्रतिक्रिया