Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

काठमाडौं, २२ जेठ २०८३ । इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर गरिएको सुन तस्करीपश्चात् गायब पारेर भ्रष्टाचार गरेको अभियोग लगाइएका एक प्रतिवादीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँगै भ्रष्टाचार मुद्दा दायर गरेका प्रतिवादी रेवन्त खड्कालाई विशेष अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै जेल चलान गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको भेप तस्करीमा कर्मचारी र राजनीतिक नेतृत्वको ‘गठजोड’ देखिएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले करिब सात करोड ७९ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा चलाएको थियो ।

उक्त मुद्दामा पूर्वसभामुख महरासँगै उनका छोरा राहुल भन्ने रेशम महरा र चिनियाँ नागरिकलाई समेत प्रतिवादी बनाइएको थियो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले शुक्रबार मुद्दाका प्रतिवादी खड्कालाई थुनामा पठाउन आदेश दिएको हो ।

भेपभित्रको सुन लामो समयसम्म ‘सेटिङ’ मिलाएर सक्कली सुन झिकी नक्कली सामान सट्टापट्टा कार्यमा खड्काको कसुर रहेको दाबी अख्तियारको छ । “मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूको रोहबाट हेर्दा यी प्रतिवादी रेवन्त खड्काको हकमा विशेष अदालत ऐन, २०५९ लप दफा ७ को (ङ) को अवस्था विद्यमान रहेको देखियो,” आदेशमा भनिएको छ, “अतः प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षका लागि हाल निज प्रतिवादी रेवन्त खड्कालाई विशेष अदालत नियमावली २०८० को नियम ३० को उपनियम (१) बमोजिम थुनुवा पूर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिनू ।”

 

तपाईको प्रतिक्रिया