Online Bichar
शुक्रबार, जेठ २२, २०८३ | Friday, June 5, 2026

खाँदबारी, २१ जेठ २०८३ । संखुवासभाको पाँचखपन नगरपालिकी एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचखपनका ३० वर्षीय अरुण राईलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ परेका राईले बालिकालाई विभिन्न प्रलोभनमा पारी फकाई जबरजस्ती करणी गरेको खुलेको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी मुद्दामा संखुवासभामा जिल्ला अदालत चैनपुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । पीडित बालिकाको स्थास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यसैगरी, जबरजस्ती करणी मुद्दामा १० वर्षदेखि फरार प्रतिवादीलाई पनि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका पाँचखपन– ५, खमारेका ५६ वर्षीय द्रोणप्रसाद पोखरेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । जिल्ला अदालत संखुवासभाले २०७१ साल चैत २९ गते १० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका पोखरेललाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालत संखुवासभामा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया