झापा, २१ जेठ २०८३ । झापाको झापा गाउँपालिका–५ सिलमडाँगी क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।
बिहिबार साँझ करिब ५ः३० बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४२ प ३२४५ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक दमक नगरपालिका–६ निवासी १९ वर्षीय बिमल कार्कीको साथबाट कालो प्लास्टिकमा पोका पारेर लुकाईछिपाई ल्याइएको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित १६ ग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ०४ मिलिग्राम रहेको छ।
प्रहरीले मोटरसाइकलसहित चालक कार्की र मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका–१ निवासी २० वर्षीय सन्देश कुमाललाई नियन्त्रणमा लिएको छ।
दुवै जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।






