Online Bichar
बुधबार, जेठ २०, २०८३ | Wednesday, June 3, 2026

काठमाडौं, २० जेठ २०८३ । बिहारको पटनामा चर्चित शिक्षक तथा युट्युबर ‘खान सर’को कोचिङ सेन्टरमा अज्ञात व्यक्तिहरूले मंगलबार राति गोलीप्रहार गरेका छन् । कोचिङ सेन्टरमा तोडफोड समेत गरिएको इन्डिया टुडेले जनाएको छ ।

आक्रमणकारीहरूले कोचिङ सेन्टरलाई बमले उडाइदिने धम्की समेत दिएका छन् । विद्यार्थी र स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ । यो घटना पटनाको प्रमुख शैक्षिक केन्द्र मुसल्लहपुरमा भएको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार प्रहरीले यस आक्रमणको पछाडि प्रतिस्पर्धी कोचिङ सञ्चालकहरूको संलग्नता हुन सक्ने आशंका गरेको छ । उनीहरूबीच आपसी प्रतिस्पर्धा र वर्चस्वको लडाइँ चल्दै आएको छ ।

घटनाका क्रममा कोचिङ सेन्टरबाहिर रहेका एक सुरक्षा गार्ड गम्भीर घाइते भएका छन् । आक्रमणकारीहरूले हवाई फायरिङ गर्दै कोचिङ संस्थाको कार्यालयमा समेत व्यापक तोडफोड गरेका थिए । पोस्टर तथा ब्यानरहरू पनि च्यातिदिएका थिए ।

सुरक्षा गार्डले उनीहरूलाई रोक्ने प्रयास गर्दा उनीमाथि कुटपिट भएको बताइएको छ । घाइते गार्डलाई तत्काल नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

कम शुल्कमा पढाएको र नतिजा राम्रो ल्याएकाले प्रतिस्पर्धीले आक्रमण गरे: खान सर
खान सरले सञ्चारमाध्यमसँग आफ्ना प्रतिस्पर्धी कोचिङ संस्थाहरूमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रश्न गर्दै भने, “कम शुल्कमा के गरिब बालबालिकाले पढ्ने अधिकार राख्दैनन् ?”

उनले हालै मात्र बिहार प्रहरी भर्ना परीक्षाको नतिजा आएको र त्यसमा आफ्ना हजारौँ विद्यार्थी छनोट भएको बताएका छन् । “जब हजारौँको संख्यामा नतिजा आउँछ, तब केही असामाजिक तत्वहरूले आफूलाई असुरक्षित महसुस गर्न थाल्छन्,” उनले भने । इन्डिया टुडे

 

तपाईको प्रतिक्रिया