Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १७ जेठ २०८३ । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबारप्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले ‘नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए ।

त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) का सांसद रमेश मल्लले मुलुकको राष्ट्रिय अखण्डताका विषयमा आँच आउने खालको अभिव्यक्ति दिन नपाइने बताए । प्रधानमन्त्रीले सदनको रोस्ट्रमलाई अनौपचारिक ठाउँ सम्झिएको उनले टिप्पणी गरे ।

“सदनको रोस्ट्रमबाट जुन व्यक्त गर्नुभएको छ, त्यो सामान्य छैन । इन्फर्मल कुराकानीमा राखेको विषयवस्तुजस्तो सम्झनु भयो कि जस्तो लागेको छ । कुनै मुलुकका राष्ट्रप्रमुखले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेको भन्छन् होला ?,” उनले भने ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्ले सच्याउनुपर्ने बताए । “हामीले संसद्को तर्फबाट करेक्सन गर्नैपर्दछ । यो गम्भीर अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ,” उनले भने ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि नेपालले भारतको भूमि कहाँ मिचेको छ रु भनेर प्रश्न गरिन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।

“प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्‍यो,” उनले भनिन्, “यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।”

 

तपाईको प्रतिक्रिया