Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २१ फागुन । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम–अयोध्यासम्मको बस सेवा उद्घाटनमै सीमित भएको छ । गत वैशाख २८ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरबाट बस सेवाको उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले हरियो झन्डा देखाएर उक्त बस सेवाको आरम्भ गरेका थिए । निकै चर्चा गर्दै सुरु भएको बस सेवा उद्घाटनसँगै अयोध्या पुगेका दुईवटा बस तीन दिनपछि जनकपुर फर्किएका थिए ।

जनकपुर अयोध्या बससेवा र रामायण सर्किट उद्घाटन, करोडौं नेपाली र भारतीय जोडिनेछन् : मोदी

त्यसपछि पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भदाै ३१ गते हरिया झन्डा देखाएर बस सेवाको उद्घाटन गरे । त्यसपछि भने ती बस सञ्चालनमा आएका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘रामायण सर्किट’ अन्तर्गत राम र सीताको चरण परेका स्थलहरुलाई जोड्ने क्रममा सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन गरेको चर्चा जनकपुरमा आयोजित कार्यक्रममा गरेका थिए ।

जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू

धार्मिक पर्यटन जोड्ने महत्वपूर्ण कडिका रुपमा लिइएको जनकपुर–अयोध्या बस सेवाको उद्घाटनको चर्चा भारतीय सञ्चारमाध्यमले समेत उच्च प्राथमिकताका साथ गरेका थिए । तर बस सेवा उद्घाटनमै सीमित हुँदा पर्यटनको प्रवर्द्धन हुने अपेक्षामा रहेका व्यवसायी भने निरास छन् । जनकपुरधाम प्रदेश नम्बर २ मा पर्ने भए पनि बस सेवाको सम्झौता र अधिकार केन्द्र सरकारको हातमा छ ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बस सेवा सञ्चालन गर्ने योजना संघीय सरकारको भएकाले कहिले सुरु हुन्छ भन्ने जानकारी नभएको बताए ।

मोदीलाई जानकी मन्दिरमा ओलीको स्वागत, विशेष पूजापछि रामायण सर्किट उद्घाटन

‘‘बस सञ्चालनका बारेमा संघीय सरकारले हामीसँग कुनै समन्वयसमेत गरेन । सञ्चालन गरेर किन बन्द गरियो त्यो पनि जानकारी छैन । यो नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय विषय भएकाले केन्द्रलाई नै सोध्नुस्,’’ मन्त्री सोनलले बाह्रखरीसँग कुरा गर्दै भने ।
नेपाल सरकारले चाहेको अवस्थामा बस किन्ने कुरा ठूलो नभएको उनले बताए ।

मन्त्री सोनलले भने, ‘‘धार्मिक हिसाबले यसको ठूलो महत्व थियो । केन्द्रले आफू पनि नगर्ने हामीलाई पनि अधिकार नदिने काम गरेको छ । यात्रु जति पनि छन् । हामीलाई संघीय सरकारले जिम्मा दिए हामी बस गुडाउन तयार छौं ।’’ जनकपुरधामबाट भारतको सीतामढी हुँदै अयोध्या जान झण्डै १२ घण्टा लाग्छ । सीतामढी भएर अयोध्यासम्मको यात्रा गर्न पाँच सय ४४ किलोमिटर तय गर्नुपर्छ ।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जनकपुर–अयोध्या दुईवटा निकायको समन्वय नमिलेका कारण सेवा सञ्चालन हुन नसकेको बताउँछन् । उनका अनुसार जनकपुरबाट अयोध्या जाने र अयोध्याबाट जनकपुर आउने भाडादर नमिलेका कारण पनि बस सञ्चालनमा कठिनाइ भएको हो ।

बसको भाडा, बस रोकिने स्थान, बस सेवा नेपाली अथवा भारतीय कुन कम्पनीले सञ्चालन गर्नेलगायतका प्राविधिक निर्णय संघीय सरकारले गर्न सकेको छैन । हाल ‘काठमाण्डू–दिल्ली’ वा ‘महेन्द्रनगर–दिल्ली’ जस्तै गरी जनकपुर–अयोध्या बस पनि चल्ने बताइएको थियो ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटा बस सेवा सञ्चालन रोकिएको तर त्योबाहेक नयाँ जानकारी नभएको बताउँछन् ।

बस सेवा उद्घाटनपछि के गर्ने भन्नेबारे संघीय सरकार उदासीन देखिएको मन्त्रालय स्रोत बताउँछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सह–सचिवका अनुसार ५ सय किलोमिटर दूरीमा बस सञ्चालन हुँदा एकपल्ट जाँदा र आउँदा ३० हजार भारु सञ्चालन खर्च हुन्छ । उनले भने, ‘‘यात्रुले तिरेको भाडाले त्यो खर्च पनि उठ्न नसकेकाले यो रुटमा बस सञ्चालन गर्न व्यवसायीहरु उत्साहित नभएका हुन सक्छन् ।’’

तपाईको प्रतिक्रिया