काठमाडौं, १३ जेठ २०८३ । इजरायलले दक्षिण र पूर्वी लेबनानमा गरेको पछिल्लो आक्रमणमा केही मानिसको मृत्यु भएको छ । यो आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहविरुद्ध सैन्य कारबाही तीव्र पार्ने घोषणा गरेलगत्तै गरिएको बीबीसीले जनाएको छ ।
आक्रमणमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्कोतर्फ, इजरायली सेनाले आफूले हिजबुल्लाहका १०० भन्दा बढी लक्ष्य तथा लडाकुलाई निसाना बनाएको दाबी गरेको छ ।
गएको सोमबार नेतन्याहूले हिजबुल्लाहमाथि थप दबाब बढाउन सैन्य आक्रमण तीव्र पार्ने आदेश दिएको बताएका थिए ।
अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच युद्धविराम गराइएको भए पनि दुवै पक्षले यसलाई पटक–पटक उल्लंघन गर्दै आएका छन् ।






