Online Bichar
बिहिबार, जेठ १४, २०८३ | Thursday, May 28, 2026

काठमाडौं, १३ जेठ २०८३ । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद सुधन गुरुङको बयान लिएको छ । समितिले मंगलबार देखि बयान लिने कार्य थालेको हो ।

बुधबार दोस्रो दिन पनि समितिले उनको बयान लिएको छ । गुरुङले निकटहरूलाई आफ्नो बयान सकिएको जानकारी गराएका छन् । आयोगले भने उनको बयान अझै बाँकी रहेको जनाएको छ ।

“बयान सुरु भएको हो । अनुसन्धान गर्दै जाँदा फेरि पनि बयान दिनुपर्ने हुनसक्छ,” समितिका प्रवक्ता समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, “समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाउने दिन धेरै बाँकी नरहेकाले हामी अनुसन्धानको गति बढाएर काम गरिरहेका छौँ ।”

गएको वैशाख २८ गते १५ दिनको समय दिएर समिति गठन गरिएको थियो । समितिले जेठ ४ देखि काम थालेको थियो ।

गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा विभिन्न टीकाटिप्पणी गरिएको थियो । उनले सम्पत्ति विवरणमा खुलाएका सुनदेखि जग्गासम्ममा प्रश्न उठाइएको थियो ।

कतिपय जग्गा मन्त्री हुनु दुई दिनअघि मात्र वारेसमार्फत खरिद गरिएको विवरण सार्वजनिक भएको थियो । त्यसबाहेक सामाजिक कामका निम्ति खोलिएको गैरनाफामूलक ‘हामी नेपाल’को सम्पत्ति पनि व्यक्तिगत खातामा गएको भनेर प्रश्न उठाइएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले आफूमाथिको छानबिन सहज होस् भनेर राजीनामा दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।

उनले राजीनामा दिएको २०औँ दिनमा वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । यो समितिमा भण्डारीसहित महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अन्युतमणि न्यौपाने सदस्य छन् ।

समितिको कार्यकाल यही जेठ १९ गते सकिँदै छ ।

तपाईको प्रतिक्रिया