Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

भद्रपुर, २० फागुन । झापाको अर्जुनधारा नगरपालिका–८ का घनश्याम साह र प्रकाश राजवंशीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे८ प. ९४२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक साहको साथबाट ६ ग्राम ब्राउन सुगर र मोटरसाइकलको पछाडि सवार राजवंशीको साथबाट लुपिजेसिक २०, फेनारगन २० र डाईजेपाम २० एम्पुल गरी ६० एम्पुल लागूऔषध फेला परेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

त्यस्तै मोरङ धनपालथान गाउँपालिका–२ गोसाई पोखरीबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेको को२ ह ३४६ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्ने क्रममा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले मोरङ केराबारी–३ का सुरेन्द्र श्रेष्ठ, आरके भनिने सोमराज विष्ट र थिरोज लिम्बूलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ट्याब्लेट ३० थान, नाइट्राजेपाम १८ ट्याब्लेट, डाइलेक्स डिसी १ थान बरामद गरेको छ । पक्राउ परेका तीन जनालाई इप्रका रङ्गेली राखी थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ५ केजी गाँजासहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान साढे ४ बजेतिर इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउदै गरेको को१६ प. ९६९४ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा गाँजासहित साँगुरीगढी–८ का अविनास राईलाई पक्राउ गरिएको हो । मोटरसाइकलको पछाडि बाँधेर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो । राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया