Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

उत्तम नेपाल

भद्रपुर, २० फागुन । झापाको भद्रपुरबाट सौन्दर्यका सामान र खाद्यान्य सामग्री मटर तस्करी भइरहेको पाइएको छ । कारोबारीले स्थानीय टाठाबाठा र कारोबारको विषयमा चासो राख्नेलाई खुशी पारेर तस्करीमार्फत् सामग्री भारततर्फ निकासी गरिरहेका छन् । सीमामा खटिएका प्रहरीलाई समेत चुनौती दिँदै कारोबारीले फेयर एण्ड लब्ली, कोलगेट मञ्जन, पत्ताको सेम्पु, चुरोट, हाजमोला, सेतो मटर लगायत दैनिक लाखौँको सामान भारत लैजाने गरेका छन् ।

अधिकांश भद्रपुर क्षेत्रका कारोबारीले साइकल तथा टाउकोमा बोकाएर मजदुरमार्फत् सामान भारत पठाउने गरेका छन् । नेपाली बिक्रीमूल्य उल्लेख गरिएको सौन्दर्यका सामान भारतमा भारतीय मूल्यमा नै बिक्री हुने गरेकोले त्यस्ता सामान भारततर्फ तस्करी हुने गरेको व्यापारीको भनाइ छ ।

मल्टीनेसनल रूपमा बिक्रीको अनुमति पाएकोले नेपाल लिभरका सामान भारत तस्करी हुने गरेको व्यवसायीको दाबी छ । तस्करीका सामान रोक्नलाई सुरक्षाकर्मीले छिटफुट सामग्री भने बरामद गर्दै आइरहेको छ । दैनिक थोरै मात्रामा सामान बरामद गर्दै आइरहे पनि तस्करले कारोबारलाई निरन्तरता नै दिएका छन् ।

शुरुमा प्रतिबोरा १२ सय मूल्यमा भारत पठाउने गरेको बुझिएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जनाए । कारोबारीको प्रतिस्पर्धा हुन थालेपछि पछिल्लो पटक ८ सय रुपैयाँ प्रतिबोरा पठाउने गरेकोले भद्रपुर क्षेत्रमा धेरैले यो व्यापार गरिरहेको इन्स्पेक्टर श्रेष्ठको भनाइ छ । यस्ता सामान रोक्न २४ सै घण्टा प्रहरी परिचालन गरिएको उनले जनाए । सामान बोक्नेमा बढीजसो भारतीय महिला भएकोले नियन्त्रणमा लिन समस्या भए पनि अब महिला प्रहरीमार्फत् पक्राउ गरिने उनले बताए ।

यसैक्रममा कारोबारीले साइकलमा राखेर भारत लैजाँदै गरेको अवस्थामा भद्रपुर–५ स्थित देवीबस्तीबाट डेढ लाख रुपैयाँ मूल्य बराबरको तीन कार्टुनमा रहेको अन्दाजी तीन हजार थान फेयर एण्ड लब्ली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल २ नम्बर गणबाट खटिएको प्रहरीले आइतबार बिहान सामान बरामद गरेको सशस्त्रका डिएसपी ओजिस ओलीले जनाए । सोही स्थानबाट ६ बोरा सेतो मटरसमेत बरामद गरिएको डिएसपी ओलीले जानकारी दिए । त्यसैगरी मेचीनगर–१२ ज्यामिरगढी क्षेत्रबाट साढे दुईलाख मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको उनले जनाए ।

यता वडा प्रहरी कार्यालय भद्रपुरले २० हजार मूल्य बराबरको कोलगेट दन्तमञ्जन र पत्ता सेम्पु बरामद गरेको जनाएको छ । भद्रपुर–५ गणेश मन्दिर क्षेत्रबाट आइतबार बिहान भारततर्फ लैजाँदै गरेको ६ कार्टुनमा रहेको सेम्पु र दन्तमञ्जन बरामद गरिएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए । भारतीय महिलाले टाउकोमा राखेर लैजाँदै गरेको अवस्थामा सामान बरामद गरिएको उनले जनाए ।

केही दिनअघि १२ बोरा मटर पनि बरामद गरिएको उनले जानकारी दिए । बरामद गरेको सामानलाई आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया