Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

भक्तपुर २० फागुन । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु छ करोड बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए ।

आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उनले जानकारी दिए । सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो ।
उद्योगका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट सम्पूर्ण सामान नष्ट भएको, आफ्नै घरमा समेत क्षति पुगेको बताए । उनले आगलागीबाट रु छ करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए ।
(रासस)

तपाईको प्रतिक्रिया