Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, ७ जेठ २०८३ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ‘ककरोच जनता पार्टी’ले इन्स्टाग्राममा उछिनेको छ ।

भाजपाविरुद्ध युवाहरूको नेतृत्वमा व्यंग्यात्मक आन्दोलनका रूपमा सो समूह उदाएको छ । इन्स्टाग्राममा भाजपालाई उछिने पनि आफ्नो एक्स अकाउन्ट ‘सीजपी २०२९’ भारतमा प्रतिबन्धित गरिएको सो समूहले जानकारी दिएको छ ।

पार्टीका संस्थापक अभिजित दिपकेले ब्लक गरिएको अकाउन्टको स्क्रिनसट सेयर गर्दै लेखेका छन्, “अपेक्षा गरिएझैँ, ककरोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ ।” दिपकेले इन्स्टाग्राममा रहेका आफ्ना १ करोडभन्दा बढी फलोअर्सलाई यस कदमविरुद्ध विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् ।

उनले एक भिडियो सन्देशमा भनेका छन्, “हामीले कुनै गलत कुरा लेखेका थिएनौँ । एक विद्यार्थीले आत्महत्या गरेका कारण हामीले केवल शिक्षामन्त्रीको राजीनामा मागेका थियौँ । हामी केवल जवाफदेहिता चाहन्छौँ । यो कस्तो प्रकारको लोकतन्त्र हो रु”

दिपके र ककरोच जनता पार्टी (सीजेपी) ले प्रश्नपत्र बाहिरिएको आरोपपछि भारतभर सञ्चालन गरिएको प्रि–मेडिकल प्रवेश परीक्षा रद्द गरिएकामा भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका थिए । निकै तनावपूर्ण मानिने उक्त परीक्षा अब आउँदो जुन महिनामा पुनः सञ्चालन गर्ने तय गरिएको छ । तर, भारतभरका विद्यार्थीहरू यस घटनाक्रमबाट गम्भीर रूपमा प्रभावित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका प्रतिवेदनअनुसार, परीक्षा रद्द गरिएपछि कम्तीमा दुईजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् । दिपकेले यसअघि सीजेपीको इन्स्टाग्राम अकाउन्ट ह्याक गर्ने प्रयास भइरहेको र आफूले त्यसलाई जोगाइरहेको जानकारी पनि दिएका थिए ।

 

तपाईको प्रतिक्रिया