Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, ७ जेठ २०८३ । अमेरिका र क्युबाबीच बढ्दो तनावले अब सैन्य मोर्चामा हलचल बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत यूएसएस निमित्ज आफ्नो स्ट्राइक ग्रुपसहित क्यारेबियन सागरमा पुगेको अमेरिकी संचारमाध्यम ‘द हिल’ जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाप्रति आफ्नो धारणा सार्वजनिक गरेका बेला यो तैनाथी भएको हो । उनले क्युवाविरुद्ध कारबाहीको चेतावनी दिएका छन् । यस तैनाथीको उद्देश्य अमेरिकी सैन्य उपस्थितिलाई थप सुदृढ बनाउनु हो ।

अमेरिकी नौसेनाको यस शक्तिशाली स्ट्राइक ग्रुपमा एफरए–१८ई सुपर हर्नेट लडाकु विमान, ईए–१८जी ग्रोवलर इलेक्ट्रोनिक युद्धक विमान तथा सी–२ ग्रेहाउन्ड सपोर्ट एयरक्राफ्ट समावेश छन् ।

यसका साथै यूएसएस ग्रिडली विध्वंसक युद्धपोत र यूएसएनएस पटक्सेन्ट इन्धन आपूर्ति पोत पनि यस समूहमा रहेका छन् ।

अमेरिकी दक्षिणी कमान्डले यसको पुष्टि गर्दै यूएसएस निमित्जले ताइवान जलमार्गदेखि अरबको खाडीसम्म विभिन्न क्षेत्रमा स्थिरता सुनिश्चित गर्दै तथा लोकतन्त्रको रक्षा गर्दै आफ्नो युद्ध क्षमता प्रमाणित गरिसकेको जनाएको छ ।

सन् १९७५ मा सेवामा ल्याइएको यस विमानवाहक युद्धपोतले हालै रियो दि जेनेरियोको तटमा ब्राजिलको नौसेनासँग संयुक्त नौसैनिक अभ्यासमा भाग लिएको थियो । यो जानकारी ब्राजिलस्थित अमेरिकी दूतावासले दिएको थियो ।

रिपोर्टअनुसार, ट्रम्प प्रशासनले हालका दिनहरूमा क्युबाविरुद्ध आफ्नो अडान अझ कडा बनाएको छ ।

अमेरिकी न्याय विभागले क्युबाका पूर्वराष्ट्रपति राउल कास्ट्रोमाथि सन् १९९६ मा अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुईवटा नागरिक विमान खसालिएको घटनासँग सम्बन्धित हत्या तथा अन्य अपराधहरूको आरोप लगाएको थियो । उक्त घटनामा चारजनाको मृत्यु भएको थियो ।

ट्रम्पले भने, “यो अत्यन्त महत्वपूर्ण विषय हो । यो केवल क्युबाली–अमेरिकीहरूका लागि मात्र होइन, क्युबाबाट आएका ती मानिसहरूका लागि पनि ठूलो क्षण हो, जो क्युबा फर्कन र त्यहाँ रहेका आफ्ना परिवारसँग भेट्न चाहन्छन् ।”

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका जनताका नाममा स्पेनिस भाषामा सन्देश जारी गर्दै क्युबाको कम्युनिस्ट सरकारलाई त्यहाँको बिजुली संकट तथा आर्थिक समस्याका लागि जिम्मेवार ठहराएका छन् ।

रुबियोले अमेरिकाको इन्धन नाकाबन्दी नीतिको पनि समर्थन गरेका छन् ।

अर्कोतर्फ, सीआईएका निर्देशक जोन र्‍याटक्लिफले हालै क्युबाली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले स्पष्ट रूपमा संवादको सम्भावना सधैँ खुला नरहने चेतावनी दिएका थिए ।

यस अभिव्यक्तिपछि कूटनीतिक क्षेत्रमा तनाव अझ बढेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया