Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, ६ जेठ २०८३ । प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदन दर्ता हुने भएका छन् ।

सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिशविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन एक सातासम्म ‘होल्ड’ मा छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफुले लगेका रिटमा दरपीठपछि सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाईको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका थिए ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले दरपीठविरुद्ध परेका निवेदन भोलि (जेठ ७) मा दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले निवेदक रहेका सिलवाल सर्वोच्चको सम्पर्कमा आएको र बाँकी निवेदकलाई पनि बोलाइएको जानकारी दिए ।

कोइरालाका अनुसार निवेदन बिहीबार दर्ता गरेर जेठ ११ गतेका लागि सुनुवाइको पेशी राख्ने तयारी सर्वोच्चबाट भएको छ ।

‘‘एकजना आज (बुधबार) हाम्रो सम्पर्कमा आइसक्नुभएको छ । अरु निवेदकलाई पनि भोलि सर्वोच्चमा डाकेर दर्ता गर्ने भनिएको छ । निवेदनमाथि ११ गतेका लागि सुनुवाईको पेशी तोक्ने कुरा पनि भएको छ,’’ प्रवक्ता कोइरालाले बाह्रखरीसँग भने ।

रिटहरू दरपीठ भएपछि रजिस्ट्रारको आदेश ‘बेरित’ को भएको भन्दै त्यसविरुद्ध उनीहरुले अर्को निवेदन दिएका हुन् ।

यता, रिटमा दरपीठमार्फत दर्ता अस्विकार गर्ने प्रशासनिक निर्णय जारी रहेको अवस्थामा डा.शर्मा भने राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त भइ पदभार सम्हालिसकेका छन् । यद्धपी, रिटमा सुनुवाइको औचित्य भने सकिएको छैन ।

 

तपाईको प्रतिक्रिया