काठमाडौं, ६ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन् ।
संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भए पनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको सम्भावना नरहेको बताए ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए । संसद्को कामकारबाही र बजेट छलफलका सम्बन्धमा पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भए पनि अर्थपूर्ण रहेको दाबी गरे ।
प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
प्रधानमन्त्री संसद्मा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहेको दाबी गरे । सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे ।
पार्टीका नेताहरूमाथि लागेका आरोप र नैतिकताका विषयमा स्पष्ट पार्दै उपनेता पराजुलीले पूर्वगृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको बताए ।
मोरङ क्षेत्र नं. २ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको भन्दै उनले रास्वपा विधि र प्रक्रियामा पूर्ण विश्वास गर्ने पार्टी भएको बताए ।






