Online Bichar
सोमबार, जेठ ०४, २०८३ | Monday, May 18, 2026

काठमाडौं, ३ जेठ २०८३ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कंगोमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपत्काल घोषणा गरेको छ ।

पूर्वी इटुरी प्रान्तमा २४६ संक्रमितसँगै ८० जनाको मृत्यु भएपछि यसलाई अन्तर्राष्ट्रिय आपत्काल भनिएको हो । यो प्रकोप महामारी भने नभएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

बुन्डिबुग्यो भाइरसका कारण फैलिएको इबोला भाइरसको कुनै पनि स्वीकृत औषधि वा खोप नरहेको डब्लूएचओको भनाइ छ ।

कंगोका विभिन्न प्रान्तमा देखिएको इबोला छिमेकी देशसम्म पुगेको डब्लूएचओले जनाएको छ । युगान्डामा बिहीबार इबोलाबाट ५९ वर्षीय पुरूष संक्रमित भएका थिए ।

अन्तर्राष्ट्रिय इबोला आपत्काल कत्तिको चिन्ताजनक ?

युगान्डामा कंगोका एक नागरिकको इबोलाबाट मृत्यु भएको छ । ती नागरिकको शव युगान्डाले कंगो पठाएको छ । एम(२३ सशस्त्र समूहको कब्जामा रहेको युगान्डाको पूर्वी सहर गोमामा पनि इबोला फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनले कंगोका सहरी इलाकामा मानवीय संकट निम्तिन सक्ने बताएको छ । यस्तै, कंगोसँग सीमा जोडिएका मुलुकहरू पनि उच्च जोखिममा रहेको डब्लूएचओको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा संक्रमण रोकथामका उपाय लागूका लागि आपत्कालीन केन्द्र स्थापना गर्न सुझाएको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङ गर्न भनेको छ ।

संक्रमण फैलिन नदिनका निम्ति संक्रमितलाई तुरुन्तै आइसोलेसनमा राख्न भनिएको छ । यस्तै, ४८ घण्टाको अवधिमा परीक्षण गर्दा दुवैपटक नेगेटिभ नआउँदासम्म आइसोलेसनमा रहनुपर्ने सुझाव डब्लूएचओको छ ।

कंगोमा सन् २०१८ र २०२० मा इबोला प्रकोपका कारण २३ सय मानिसले ज्यान गुमाएका थिए । विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्र बाहिरका मुलुकहरूलाई सीमा बन्दका साथै व्यापारमा प्रतिबन्ध जस्ता गतिविधि नगर्न सुझाएको छ ।

यस्ता उपाय त्रासका कारण अवलम्बन गरिने र त्यसले संक्रमणको फैलावट रोक्न सहयोग गर्ने कुनै वैज्ञानिक आधार नभएको डब्लूएचओको भनाइ छ । डब्लूएचओका प्रमुख टेड्रोस अदानम ग्रेब्रेसियसले भनेका छन्,”संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र रोगको विस्तारबारे अझै पनि अनिश्चितता छ ।”

पाँच दशकको अवधिमा इबोलाबाट अफ्रिकी मुलुकहरूमा १५ हजारले ज्यान गुमाएका छन् । गत वर्षमात्रै अफ्रिकाका दुर्गम क्षेत्रमा ४५ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया