Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

विराटनगर, ३ जेठ २०८३ । विराटनगरको ग्रिनक्रस हस्पिटलमा एक मृतकको सुनको मुन्द्रा हराएको छ । उपचारका क्रममा मृत्यु भएकी एक महिलाको सुनका मुन्द्रा चोरी भएको परिवारको आरोप छ ।

घटनाले अस्पतालको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेपछि प्रहरीले समेत अनुसन्धान थालेको छ ।

घटनापछि मृतकका आफन्तले विरोध जनाएपछि अस्पताल प्रशासनले सुनको मूल्यबराबरको रकम दिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सविना दनुवारले विष सेवनपछि जेठ १ गते अस्पताल भर्ना भएकी थिइन् । तर, उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो ।

परिवारका अनुसार, मृत्यु घोषणा हुनुअघि ईसीजी गर्ने भन्दै लगिएको थियो । तर, सोही क्रममा कानमा लगाएको सुनको मुन्द्रा हराएको देखेपछि परिवारले त्यसबारे सोधीखोजी गरेका थिए ।

सुरुमा अस्पताल प्रशासनले सुन हराएको आरोप अस्वीकार गरेको थियो । तर, आफन्तले उपचारकै क्रममा खिचिएको भिडियो सार्वजनिक गरेपछि अस्पताल पछि हट्न बाध्य भएको बताइएको छ ।

भिडियोमा मृतकको कानमा मुन्द्रा स्पष्ट देखिएको र सीसी क्यामेरा फुटेजमा समेत शंकास्पद गतिविधि देखिएपछि अस्पतालले घटना स्वीकार गरेको स्रोतको दाबी छ ।

प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले दोषी कर्मचारीमाथि छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको छ । यद्यपि, अस्पतालका सञ्चालक कृष्ण खवासले घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अस्पताल परिसरमा मृतकबाट गहना हराएको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया