Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

काठमाडौं, ३ जेठ २०८३ । नेपालमा एन्टिरेट्रोभाइरल थेरापी एआरटी सेवामा आबद्ध हुने एचआईभी संक्रमितको संख्या २५ हजार ५ सय ११ पुगेको छ ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत सेवा लिने संक्रमितहरूको संख्या गत वर्षको तुलनामा ५.२६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो संख्या २४ हजार २ सय ३७ रहेको थियो ।

प्रतिवेदनअनुसार संक्रमितको संख्या मात्र नभई एचआईभीका कारण मृत्यु हुनेहरूको संख्यामा पनि समीक्षा वर्षमा उल्लेख्य वृद्धि देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा एचआईभीका कारण ३ सय ४४ जनाको मृत्यु भएकोमा, गत आर्थिक वर्ष २०८०/८१ मा २७.९१ प्रतिशतले वृद्धि भई मृतकको संख्या ४ सय ४० पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० मा एचआईभीका कारण ३ सय ४४ जनाको मृत्यु भएकोमा, गत आर्थिक वर्ष २०८०/८१ मा २७.९१ प्रतिशतले वृद्धि भई मृतकको संख्या ४ सय ४० पुगेको छ ।

केन्द्रको विगत तीन वर्षको तथ्यांकलाई हेर्दा संक्रमितहरूको संख्या लगातार बढिरहेको देखिन्छ । जसमा पुरुष र महिलाको संख्या उच्च छ भने बालबालिकाको संख्यामा भने केही गिरावट आएको छ।

नेपाललाई एचआईभी एड्स तथा यौन रोगको दूरगामी असरबाट बचाउने उद्देश्यले २०५२ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको स्थापना भएको थियो ।

यस केन्द्रका लागि समीक्षा वर्षमा ५२ करोड ४१ लाख १७ हजार विनियोजन भएकोमा ४२ करोड ३० लाख ३९ हजार खर्च भएको प्रतिवेदनले देखाएको छ ।

एड्स रोगीको संख्या र एचआईभीका कारण मृत्यु हुनेको दर दुवै बढ्दै गएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै महालेखा परीक्षकको प्रतिवेदनले यसको रोकथाम, नियन्त्रण र चिकित्सा सेवा प्रणालीमा अझ बढी प्रभावकारिता ल्याउनुपर्ने औँल्याएको छ ।

तपाईको प्रतिक्रिया