Online Bichar
बिहिबार, बैशाख ३१, २०८३ | Thursday, May 14, 2026

काठमाडौं, ३१ वैशाख २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा राष्ट्रपति पौडेलले जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसअनुसार, प्रधानमन्त्री बालेनले रक्षा, गृह, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिहरूको जिम्मेवारी तोकिएको हो ।

डा. स्वर्णिम वाग्लेले अर्थ, शिशिर खनालले परराष्ट्र र विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

त्यस्तै पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सुनिल लम्सालले पाएका छन् । सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला, सीता बादीले महिला, बालबालिका, लैंगित तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावलले पाएकी छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी निशा मेहता र शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खडकराज पौडेलले पाउँदा विक्रम तिमिल्सिनाले सूचना तथा सञ्चार, गिता चौधरीले कृषि, वन तथा पर्यावरण, गौरी कुमारीले उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवले युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

तपाईको प्रतिक्रिया